रुपन्देही । तिलोत्तमा नगरपालिका–२ स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना भएको पाईएको छ ।
सहकारीमा अनियमितता भएको आशंकापछि छानबिनका लागि खटिएका लेखापरीक्षकले सहकारीमा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको पुष्टि गरेको हो ।
सहकारीका करिब दुई हजार बचतकर्ताको रकम पदाधिकारीको निजी खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा लगानी गरेको, ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाइएको र सहकारीको सफ्टवेयरबाट अंक र अक्षर ‘डिलिट’ गरेको पाइएको छ ।
लेखापरीक्षकले बुधबार अन्तिम प्रतिवेदन तयार गरी कार्यसमितिमा बुझाएका छन् ।कार्यसमितिले पनि सो प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाइसकेको बताइएको छ ।
लेखापरीक्षण स्रोतका अनुसार सहकारीमा १२ करोड रुपैयाँ हिनामिना, २५ करोड अपचलन र ८० करोड हाराहारीको नीतिगत अपचलन भएको पाईएको छ । यस प्रकरणका मुख्य अभियुक्त सहकारी अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री असार १७ गतेदेखि फरार छन् ।
उनीहरु फरार रहेपछि प्रहरीले अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीलाई नियन्त्रणमा लिएको थियो । उनलेले बचतकर्तालाई करिब ७ करोड रुपैयाँ फिर्ता गराउने प्रस्ताव अघि सारेकी थिइन् ।
करिब २२ सय सदस्य रहेको भनिएको यो सहकारीमा पछिल्लो चरण १८ सय मात्रै रहेको र ती मध्ये ११ सय ऋणि रहेको बताइएको छ । यद्यपी, यसबारे छानविन समितिले विवरण सार्वजनिक गर्न बाँकी छ ।
बचतकर्ताहरुले आफ्ना रकम फिर्ता गर्न माग गर्दै सहकारीको कार्यालय अगाडि प्रदर्शन गर्दै आईहेका छन् ।










