१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ



अ+ अ-

भद्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ ।

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडकमध्ये ९५।७६ किलोमिटर स्तरोन्नति सुरु गरिएको थियो । एसियाली विकास बैङ्कको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि काँकडभिट्टा– लौकही सडकखण्डअन्तर्गत सहरी क्षेत्रमा चार लेनको बीचमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेन गरी ५० मिटर चौडाइको हुनेछ ।

त्यसैगरी, अर्ध सहरी क्षेत्रमा चार लेनमा दुवैतर्फ एक लेन थप गरी ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक हुने जनाइएको छ । काँकडभिट्टा–लौकही सडक योजनालाई काँकडभिट्टा–केर्खा सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा– इटहरीसम्म ५०.७६ किलोमिटर पश्चिमी खण्डमा गरी दुई भागमा विभाजन गरिएको छ । हालसम्म दुवै खण्डको ३० प्रतिशत भौतिक तथा वित्तीय प्रगति हुनुपर्नेमा पूर्वी खण्डको २१.१० प्रतिशत र पश्चिम खण्डको २५ प्रतिशत मात्र प्रगति छ ।

पूर्वी खण्डको काँकडभिट्टा–केर्खा सडक रु १० अर्ब छ करोडमा इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते ठेक्का सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि कार्य प्रारम्भ गरेको सो खण्डका इञ्जिनियर आश्रय महतले जानकारी दिनुभयो । सो खण्डमा ३०० मिटरभन्दा साना १८ वटा पुलमध्ये १७ वटा निर्माणाधीन छन्भने ६३ वटा कल्भर्ट निर्माण भएका छन् । दुई किलोमिटर ‘ड्रेन’ निर्माण गरिएको छ । आठ किलोमिटर सब–बेस सम्पन्न भएको छ । १.७ किलोमिटर बेस सम्पन्न भएको इञ्जिनियर महतले बताउनुभयो । यो सडक खण्डको पूरै भाग झापामा पर्दछ ।

विद्युतीय पोल सार्ने र सहरी क्षेत्रमा ‘साइट क्लियरेन्स’ अन्तिम चरणमा रहेको इञ्जिनियर महतले बताउनुभयो । हाल माटो अभावका कारण माटो भर्न नसक्दा केही ठाउँमा काम हुन नसकेको उहाँले बताउनुभयो । ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि कोभेक क्रेग तुँदी जेभीले रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का पाएको छ । हालसम्म उक्त पुलहरुको भौतिक प्रगति १९।३५ प्रतिशत छ ।

पश्चिमखण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीनवटा ठेक्काहरु छन । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर छ । उक्त ठेक्का क्रेग तुँदी जेभीले रु नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता गरेको इञ्जिनियर पल्लब श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, प्याकेज नं ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १०।७६ किलोमिटर छ । उक्त प्याकेजको ठेक्का कोभेक क्रेग तुँदी जेभीले रु चार अर्ब सात करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता गरेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काम सुरु भएदेखि हालसम्मको प्रगति औसतमा २५ प्रतिशत छ ।

इञ्जिनियर श्रेष्ठका अनुसार प्याकेज नं २ र ३ को कुल लम्बाइ ५०.७६ किलोमिटरमा २८ वटा ३०० मिटरभन्दा साना पुलमध्ये चारवटा पुल, ६५ वटा कल्भर्ट निर्माणसम्पन्न भएका छन् । यसैगरी, नौ किलोमिटर साइट ड्रेन, १५ किलोमिटर सब बेस, चार किलोमिटर बेस र २.३ किलोमिटर पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ ।

सहरी क्षेत्रमा सडकको क्षेत्राधिकारभित्रको घर, संरचना हटाउने कार्य भइरहेको र नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल सार्ने जिम्मा पाएको निर्माण व्यवसायीले ढिलाई गर्दा साइट क्लियर नभएकाले सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय माटो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण लक्ष्यअनुसार प्रगतिमा बाधा परेको इञ्जिनियर श्रेष्ठको कथन छ । उहाँले स्थानीय सरकार र प्रदेश सरकारले यस विषयमा आवश्यक सहजीकरण गरिदिएमा आगामी दिनमा निर्माण छिटो गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । रासस