२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

जुम्लामा मार्सी धान रोपाइँको चटारो

जुम्लामा मार्सी धान रोपाइँको चटारो
अ अ+ अ-

विजय रावत (रासस)

जुम्ला । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देश दुई महिनाभन्दा लामो समयदेखि बन्दाबन्दीमा छ । तर यतिबेला जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँको चटारोमा व्यस्त भएका छन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान रोप्न शुरु गरिएको स्थानीय किसान प्रेमराज पाण्डे बताउनुहुन्छ । 
  
जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताउनुभयो । कृषि विज्ञका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात पनि स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । 
 
मार्सी धानको चामल खैरो रङ्गको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको हो । त्यसैले सम्भ्रान्त परिवारका व्यक्तिको भान्सामा बेलाबेला मार्सी चामलको भात पाक्ने गरेको बताइन्छ । जानकारका अनुसार राणाकालमा हरेक दिन एकमाना मार्सी धानकोे चामल जुम्लाबाट काठमाडौँ मगाउने गरिन्थ्यो । हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौँको दरबारसम्म पु¥याउने गरेको यहाँका पाका नागरिकले बताउँछन् । जुम्लाको कालीमार्सी स्वादिलो र पोषिलो हुने भएकाले दरबारबाटै मगाउने गरिन्थ्यो । त्यसमाथि जुम्लाबाट चामलसँगै त्यस आसपासका हालखबर पनि दरबारसम्म पुग्थ्यो । सञ्चारको भरपर्दो माध्यम नभएको त्यो बेला जुम्ला र आसपासका ठाउँको खबर पनि चामल बोकेर लाने व्यक्तिले नै पु¥याउने गर्दथे भनिन्छ । 
 
मार्सी धानको विशेषता

“समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्ने मार्सी धान नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र आडिलो हुन्छ”, धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतले बताउनुभयो । उहाँले यो धानको महत्वपूर्ण विशेषताका आधारमा नै काठमाडौँका सम्भ्रान्त वर्गका सदस्यले मगाएर खाने गरेको बताउनुभयो ।

जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकमा काटिन्छ । यो धान रोपाइँका लागि स्थानीय युवा घर जाने गर्दछन् । स्थानीय मानिसले मार्सी धान रोप्ने बेला युवा घरमा भएनन् भने उनीहरुको मृत्यु भएसरह मान्ने गरेको प्रचलन पनि यहाँ पाइन्छ । 
 
पहिले एक मुरी खेतमा एक क्विन्टल धान उत्पादन हुन्थ्यो । विसं २०४४ देखि धानमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि त्यो घटेर १५ केजीमा झरेको छ । जुम्लामा धानखेती बेंशी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ । यो धानबाली संसारको सबैभन्दा उच्च स्थान (२७९० मिटर) जुम्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा फल्छ ।

संसारमा रातो रङको चामल १० प्रजातिभन्दा बढी छैन । जुम्लाको मार्सी चामल तिनैमध्येको एक हो । विभिन्न स्रोतका अनुसार काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भूटान, भारत, पाकिस्तानलगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।

 

काली मार्सी धानको इतिहास  

काली मार्सी धान जुम्लामा पहिलो पटक चन्दननाथ बाबाले भित्र्याएको पाइन्छ । तर कहिले भित्रियो भन्नेबारेमा स्पष्ट मिति भने छैन । चन्दननाथ बाबाले पनि कहिले र कहाँबाट यो धानको बीउ ल्याए भन्ने यकिन तथ्याङ्क छैन । बाली विज्ञका अनुसार यो १४औँ शताब्दीभन्दा पहिले हुनसक्ने अनुमान छ ।

जुम्लाको संस्कृतिसम्बन्धी जानकार रमानन्द आयार्यका अनुसार चन्दननाथ बाबाले भारतको काश्मिरबाट यो धान पहिलोपल्ट ल्याएर जुम्लाको छुमजुल भन्ने ठाउँमा लगाएको भन्ने इतिहास भेटिन्छ । नेपाललाई विश्वमा चिनाउनेमध्येकै एक धान प्रजाति भएकाले नेपालमा धानको इतिहास निकै पुरानो भएको धानबाली विज्ञ बस्नेत बताउनुहुन्छ । 

कतिपयले १२औँ शताब्दीमा काली मार्सी नेपाल भित्रिएको बताउँछन् । भारतको जम्मु काश्मिरबाट गुरु महाराज ९चन्दननाथ बाबा० ले ल्याएको यहाँका स्थानीय बुढापाकाको पनि भनाइ रहेको छ । “गुरु महाराजले ल्याएको भनेर अहिले पनि हामीले वर्षको एकपाथी काली मार्सीको चामल गुरु महाराजलाई दिन्छौँ (चढाउछौँ)”, जुम्लाका स्थानीयवासी रामप्रसाद कार्कीले बताउनुभयो । 

जुम्ला समुद्री सतहदेखि १० हजार फिटसम्मको उचाइमा छ । यहाँ माइनस चार डिग्रीसम्म तापक्रम हुन्छ । यो काली मार्सी धान पनि त्यस्तै चिसो ठाउँमा प्रशस्त फल्ने धानका रुपमा चिनिन्छ । त्यसबाहेक काठमाडौँ अर्थात् मध्यपहाडका केही जिल्लामा मार्सी धान लगाउने गरिए पनि जुम्लामा जस्तो नफलेको बस्नेतको भनाइ छ ।

खेतीको परम्परागत विधि

मार्सी धान पाक्न सात महिना पूरै लाग्छ । चैत १२ गते बीउ भिजाएर १६ गतेतिर बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने गर्नुपर्छ । त्यसपछि १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ । वैशाख १ मा बेर्नाको पानी पूरै सुकाउने चलन छ ।

त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिंगर चालेर मलका रूपमा हालिन्छ । एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौ काट्दै सँगसँगै रोपाइँ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । 

भदौमा झारजङ्गल काट्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बचाउनुभयो  ।

किन लोप हुदैछ रैथाने धान ?

नेपालमा १४ हजारदेखि १५ हजार हेक्टर जमिनमा धानखेती हुन्छ । यी खेतमा ९६ प्रतिशत उन्नत धानका बीउ रोपिन्छ भने चार प्रतिशतमा मात्र रैथाने धान रोपिन्छ । रैथाने धानका बीउ कम फल्ने र उन्नत जातका बीउ धेरै फल्ने भएर किसानले रैथाने जातका धान लगाउन बिस्तारै कम गर्दै गएको बताउँछन् । रैथाने जातका धानका बीउमध्ये केहीले चिसो सहने त कुनै धानले अत्यधिक गर्मी चाहने हुन्छ । 

उन्नत जातका बीउले धेरै चिसो र धेरै गर्मी कुनै पनि सहन सक्दैनन् । खडेरी प¥यो भने उन्नत जातका बीउ सबै मासिने खतरा रहन्छ । त्यसकारण पनि रैथाने जातका धानलाई भविष्यका लागि खाद्यसुरक्षाका रुपमा लिएको छ । 

सेतो चामलसँग साट्न बाध्य 

निकै पोषिलो र अत्यधिक कार्बोहाइड्रेट भएको र स्वास्थ्यवद्र्धक पनि मानिने काली मार्सी चामलको भात चाख्न खोज्नेको जमात जुम्लामा पनि बढिरहेको छ । चामलको माग बढेकाले जुम्लादेखि काली मार्सी धान लगेर काठमाडौँमा व्यवसाय पनि गर्ने गरेका छन् । लामो समयदेखि काठमाडौँमा बसेर काली मार्सी चामलको व्यापार गर्दै आएका जुम्लाका पदम बुढालाई यतिबेला कोरोनाले देश लकडाउन हुँदा मार्सी चामलको व्यवसायमा सकस भएको बताउनुभयो । “हामीले सानो परिमाणमा मात्रै जुम्ली चामलको व्यापार गर्दै आएका थियौँ”, रावतले भन्नुभयो,  “पछिल्ला केही दिनयता कोरोना भाइरसले गर्दा व्यापार ठप्प भएको छ, जसका कारण हामीले सेता चामलसँगै साट्न बाध्य भएका छौँ ।” 

हाल काली मार्सीमा विभिन्न रोग लाग्ने तथा जलवायु परिर्वतनले गर्दा पनि धान उत्पादन घट्दै गएकाले जुम्लाका जनता पनि आयातित सेतो चामल खान बाध्य छन् । तिला गाउँपालिका १ का दलपत्ती रावत भन्नुहुन्छ, “हाम्रो बाल्यवस्थामा यस्तो चामल नै थिएन । अहिले गाडी आएदेखि सेतो चामल भित्रिएको हो । सेतो चामलमा स्वाद पनि राम्रो छैन । तर पनि यही चामल खान बाध्य भएका छौँ ।” उत्पादन कम हुँदै गएपछि कतिपय स्थानीय पनि सेतो चामलसँग साट्न बाध्य भएको बताउने गरेका छन् ।