२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति



अ+ अ-

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । महानगरले विद्यालयमा भएका विद्यार्थी सङ्ख्याको आधारमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो ।

छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार छनोट भएका चार सय ३८ विद्यार्थीले कक्षा ११ र १२ दुवैमा छात्रवृत्ति पाउनेछन् । गत वर्ष दुई सय ६६ जनाले मात्र कक्षा ११ र १२ मा छात्रवृत्ति पाएका थिए ।

यसपटक चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको आचार्यले बताउनुभयो । छनोटमा परेका विद्यार्थीलाई तीन दिनभित्र महानगरको कार्यालयमा प्रमाणसहित दाबी पेस गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

“छनोटमा परेकामध्ये दुई सय १९ जना छात्रा छन् । छात्रवृत्तिका लागि एक हजार एक सय ६१ जनाले निवेदन दिएका थिए । महानगरले बनाएको मापदण्डभित्र परेका विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको हो”, आचार्यले भन्नुभयो । विज्ञान विषयमा छात्रवृत्ति पाउने विद्यार्थी तीन सय ३० जना छन् भने अन्य विषयमा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या एक सय आठ रहेको उहाँले जानकारी दिनुभयो ।

सामुदायिकबाट दुई सय २० र संस्थागतबाट दुई सय १८ जनाले छात्रवृत्ति पाएका छन् । विद्यार्थीलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ (संशोधनसहित) को दफा ११ को उपदफा (४) बमोजिम छात्रवृत्ति प्रदान गर्न छनोटका लागि इच्छुक विद्यार्थीबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन माग गरिएको थियो ।

कार्यविधिअनुसार जेहेन्दार एक सय ६२, गरिब तथा विपन्न एक सय ६२, आदिवासी जनजाति ५३, दलित २६, सीमान्तकृत नौ, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइते १३ जना विद्यार्थी छनोट गरिएको प्रमुख आचार्यले बताउनुभयो । छात्रवृत्ति पाएका विद्यार्थीले भर्ना र मासिक शुल्क बुझाउन पर्दैन भने अन्य सबै शुल्क विद्यार्थी आफैँले बुझाउनुपर्ने हुन्छ ।