२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

हजारौँ भारतीय सीमामा अलपत्र

हजारौँ भारतीय सीमामा अलपत्र
अ अ+ अ-

लुम्बिनी । रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् । 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण भट्टा सञ्चालकले सबै मजदुरलाई घर फर्कन भनेपछि परिवारसहित पैदलै घरतर्फ फर्कने क्रममा उनीहरु सीमामै रोकिएका छन् । भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन् । करिब सात हजारभन्दा बढी भारतीय नागरिक सीमावारि नेपालतर्फ रोकिएका छन् ।

भारत फरिदपुरका रौनक तीनवर्षे बालक, पाँचवर्षे बालिका र श्रीमतीसहित तीन दिनदेखि घर फर्कने बाटो कुरेर बस्दै आएका छन् । इँटाभट्टाका मजदुर रौनकले भन्नुभयो, “यहाँ खानालाई समस्या छैन । यतै नेपाली दाजुभाइले सडकमै खाना नास्ता खुवाइरहनुभएको छ । तर बस्नचाहिँ यही सडकमै बसेका छौँ ।”

“जत्तिसक्दो छिट्टै घर जान पाए हुन्थ्यो”, उहाँले भन्नुभयो, “भट्टाबाट यहाँसम्म त आइयो, दिनदिनै भारतबाट नेपाली आफ्नो देश आइरहेका छन् । तर, हामीलाई भारत सरकारले अझै लिन आएको छैन । यता काम नपाएझै सडकमै दिनरात बस्नुपरेको छ । उता घरमा खेतीपाती गर्ने कोही छैन ।”

दुखः पर्दा सबैलाई जन्मथलो प्यारो हुने बेलहिया सडकमा भेट्टिएका भारतको पिपीगन्ज निवासी ५२ वर्षीय वकिल मुसलमानले भन्नुभयो, “भारतबाट नेपाली जन्मथलो आइरहेका छन् । हामी नेपालबाट आफ्नै जन्मथलो फर्कने बाटो कुरेर सडकमा बसिरहेका छौं ।” भारत कताराका संतराजलाई पनि दुई भाइसँगै घर जाने क्रममा सीमामा रोकिएको तीन दिन पूरा भएको छ । पत्रकारलाई देख्नासाथ उहाँले भन्नुभयो, “सर हाम्रो कुरा भारत सरकारलाई पुर्याइदिनुपर्यो, हामी कहिलेसम्म बोर्डरमा बस्ने हो । के हामीलाई आफ्नो देश जान अनुमति छैन ?”

स्वदेश फर्कन नेपालतर्फ सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकलाई सीमा क्षेत्रका नेपालीले उद्धारको काम गरिरहेको बेलहियाका स्थानीय रामबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दिनदिनै सीमामै स्वयंसेवकका रूपमा खटिएका छौँ । भारतबाट दैनिक १२–१३ सय नेपाली आउने गरेका छन् । तर यताबाट भारततर्फ जानेहरु बढीमा दैनिक ८०० जति छन् ।”

देशैभरका नागरिक हुलकाहुल आउँदा भैरहवामा व्यवस्थापन गर्न समस्या भएको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका अजय गुप्ताले बताउनुभयो । उहाँले देशैभरका भट्टामा काम गर्ने भारतको उत्तरप्रदेशका नागरिक एकैसाथ आउँदा समस्या भइरहेको बताउनुभयो । यहाँ रहेका भारतीय नागरिक पारि नजाँदासम्म केही समय भट्टामा नै मजदुरको व्यवस्थापन गर्न प्रशासनले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । 

प्रदेश नं ५ का विभिन्न जिल्लामा मात्रै २१० भट्टा रहेका छन् । ती भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेका छन् । एउटा उद्योगमा १०० भन्दा बढी मजदुर काम गर्ने गर्दछन् ।  दशैँतिहारपछि आएर वैशाखको दोस्रो सातादेखि घर जाने मजदुर खेतीपातीका लागि घर फर्किन थालेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले भारततर्फको प्रक्रियागत ढिलाइका कारणले मजदुर रोकिराखेको बताउनुभयो । भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई मुख्यरूपमा बेलहिया नाकाबाट स्वदेश प्रवेशको अनुमति दिएकाले उत्तर प्रदेशबाट आएर नेपालका विभिन्न जिल्लामा मजदुरी गरी बसेका भारतीय नागरिकको केही भीड देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक एक हजारभन्दा बढीलाई भारतले स्वदेश भित्र्याएको छ । बाँकी करिब आठ हजार जति सीमानाकामा रोकिएर स्वदेश फर्कने प्रक्रियामै रहेका छन् ।” 

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नेपालमा काम गर्ने भारतीय मजदुरको व्यवस्थापनमा नगरपालिकाले विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरी उद्धार गर्दै आएको बताउनुभयो ।