२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा समस्यामा रहेका नेपालीको भोलिदेखि उद्धार गर्ने



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने भएको छ । सरकारले पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ । 

स्रोतका अनुसार पछिल्लो समय बर्मामा कार्यरत नेपालीहरु काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइ फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।

यसैबीच शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।

सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो । बर्माबाट आउने सबै २६ जना नागरिक वागमती प्रदेशका रहेकाले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् ।

विमानस्थलमा उत्रिएपछि उनीहरूलाई मन्त्री गुरुङसहित सुरक्षा निकायले बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा लैजानेछन् । त्यहाँ सरकारले होल्डिङ केन्द्र बनाएको छ । उनीहरूको त्यहाँ स्वास्थ्य परीक्षण हुनेछ र नेपाल टेलिकमले निःशुल्क सिमकार्ड समेत दिनेछ ।