९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अझै अनिर्णित, नेकपा सचिवालय बैठक स्थगित



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा छलफल गर्नेगरी आज अपराह्न बस्ने भनिएकाे नेकपा सचिवालयकाे बैठक स्थगित भएकाे छ । 

एमसीसी संसदबाट पारित गर्नैपर्ने दबाबमा परेको सरकारले यस बारेमा पार्टीका शीर्ष नेताहरुसंग छलफल गर्नेगरी आजका लागि बैठक डाकिएकाे थियाे ।

सरकार र पार्टी भित्र तथा बाहिर तिब्र बिरोध रहेको अवस्थामा यस बारेमा टुङ्गोमा पुग्न सचिवालयको बैठक बस्न लागेको थियाे ।

यसअघि पनि पटक पटक शीर्ष तहमा छलफल भएपनि कुनै निर्णय हुन सकेको थिएन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता चालु संसदबाट  पास गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल भने पार्टीले गठन गरेको कार्यदलले बुझाएको प्रतिबेदनलाई स्थायी समितिको बैठकमा छलफलमा लैजानु पर्ने र त्यही बाट निष्कर्ष निकाल्दा उपयुक्त हुने पक्षमा रहँदै आउनु भएको छ ।  

कार्यदलका रहेका खनाल र नेता भीम रावलले यही अवस्थामा संसदबाट पारित गर्न नहुने राय दिनु भएको छ भने अर्का सदस्य परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले १५ बुँदे फरक मत राख्दै पारित गर्नुपर्ने सुझाब दिनु भएको छ ।

कार्यदलका सदस्यहरुबाट फरक फरक राय आएपछि सचिवालयमा रहेका नेताहरुले यससंग सम्बन्धित पक्षहरु अर्थमन्त्री डा युवराज खतिवडा, एमसीसीका नेपालका  कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग पनि पटक पटक छलफल गरिसकेका छन् ।