१ भाद्र २०८३, सोमबार
,
Latest
दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीले सुक्न थाल्यो बेतना सिमसार



अ+ अ-

बेलबारी, (मोरङ) । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ ।

लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन । सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुुने गरेको भए पनि यस वर्ष सिँचाइ हुन नसकेको बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूू बताउनुुहुन्छ । सिमसारको पानी ड्याम गरेर राख्ने हो भने किसानले धान रोप्न नपाउने भएकाले ड्याम खुुला गरेर धान रोप्न पानी लगिएको अध्यक्ष लिम्बू बताउनुुहुन्छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन् । दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन् ।

पोखरीमा रहेको पानीको सतह घटेपछि सोही पोखरीबाट ६ पैनी हुँदै बाह्र सय बिघा बढी खेतीमा गरिएको सिँचाइसमेत नहुँदा धानलगायत बालीनाली सुक्न थालेका छन् । किसानले लगाएको धानलगायत बालीनालीमा पानी नहुँदा बालीनाली सुक्न थालेको बेलबारी–४ का किसान हरिप्रसाद मिश्रले बताउनुुभयो । पोखरीमै रहेका जरुवा पानीका मूल र अन्यत्रबाट बगेर आउने पानीसमेत सुकेका छन् । लामो समयसम्म पानी नपरेपछि पानीको मुहान सुक्न थालेको जानकारहरू बताउनुुहुन्छ ।

पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मूलहरू सुकेका र पोखरीमा पानीको सतह घटेपछि थप चिन्ता थपिएको बेतना सिमासार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईँ बताउनुुहुन्छ । उहाँले पोखरीमा पानीको सतह घट्दै जानु र माछाहरू मर्न थालेपछि समस्या समाधानका लागि पहल भइरहेको बताउनुुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृतसमेत रहनुभएका सिमसार अध्येता गोविन्दप्रसाद पोखरेलका अनुसार सिमसार क्षेत्रमा पानीको मात्रा सुुक्दै जानुमा अधिक मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथभावी रूपमा पानीको प्रयोग, खेती प्रणालीमा अधिक मात्रामा पानीको प्रयोगजस्ता मानवीय कारणहरू हुनसक्ने बताउनुुभयो ।

मोरङका सबै सिमसारहरूको अध्ययनसमेत गर्नुभएका संरक्षण अधिकृत पोखरेलका अनुसार बेतना सिमसार क्षेत्रमा आसपासका जङ्गल तथा ससाना खोल्साबाट आउने पानी भण्डारण गरेर बनाइएको हो । पानीलाई भण्डारण गरेर आसपासका क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको छ । कङ्क्रिटका संरचना निर्माणले पानी अडिन गाह्रो हुने उहाँले बताउनुुभयो । उहाँका अनुुसार भू तथा जलसतहमा हुने नकरात्मक प्रभावका कारण पनि पानी सुक्नसक्ने हुन्छ ।

यस्तै, पछिल्ला वर्ष वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि पोखरी तथा जलासय क्षेत्रमा पानीको मात्रा कम हुने पोखरेलले बताउनुुभयो । यद्यपि यस विषयमा अनुसन्धान गरिनुपर्ने उहाँले जोड दिनुुभयो ।

अनुसन्धानकर्ता पोखरेलले आसपास पानीका मुहानहरू सुक्दा पनि बेतना सिमसारको जलासय क्षेत्रको पानी घट्न सक्ने अर्को कारणका रूपमा लिन सकिने उहाँले बताउनुुभयो । उहाँले पारस्थितीकीय प्रणालीहरूको पुन:स्थापना, पानी पुन:भरण, जलासय क्षेत्रको सुधार, पानीको दिगो उपयोगमा जोड दिए समस्या समाधान गर्न सकिने सुझाव दिनुुभयो । रासस