८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा



अ+ अ-

दमौली, (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ ।

कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । उहाँले भन्नुभयो, “स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।”

यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उहाँको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ । सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिनुभयो ।

ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।”

ऐना पहराबाट गाउँपालिकाले रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।

यहाँ झरना झरेको ठाउँको ढुङ्गामा  गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । रासस