८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

माटोलाई सुरक्षा गर्दै कैलालीका किसान

माटोलाई सुरक्षा गर्दै कैलालीका किसान
अ अ+ अ-

टीकापुर । कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन् । मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो जोगाउन सक्रिय भएका छन् ।

माटो जोगाउन किसानले माटो परीक्षण गरेर खेती गर्न थालेका छन् । किसानले पालिका र माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा माटो परीक्षण गरेर माटो परीक्षण कार्ड बनाउन थालेका छन् । किसानले माटोको रिपोर्ट अनुसार खेती गर्न थालेका छन् ।

कैलालीको जानकी गाउँपालिका–२ की त्रलेक्यदेवी थापामगरसँग माटो परीक्षण नतिजा कार्ड छ । उहाँले आफ्नो जमिनको माटोको गुणस्तरबारे थाहा पाउने गरी यसरी कार्ड लिएको चार वर्ष भइसकेको छ । थापामगर प्रत्येक वर्ष आफ्नो खेतबारीको माटो परीक्षण गराउनुहुन्छ । ‘‘माटो परीक्षण रिपोर्टमा कृषि प्राविधिकले सिफारिस गरे अनुसार खेती गर्ने गरेका छौँ’’,उहाँले भन्नुभयो, ‘‘कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान भएको छ, यसले उत्पादन वृद्धिमासमेत सहयोग पुगेको छ । ’’

अर्का किसान लक्ष्मीदेवी मगरसँग पनि माटो परीक्षण कार्ड छ । उहाँहरुलाई यसरी माटो परीक्षण गर्न जानकी गाउँपालिकाले सघाइरहेको छ । माटोको स्वास्थ्य बारेमा थाहा पाएपछि मलपानी आवश्यकता अनुसार प्रयोग गरे पुग्नेमा किसान सचेत भएका छन् । ‘‘माटोको अवस्था, माटो संरक्षणका लागि गर्नुपर्ने प्रयासबारे जानकारी हुने गरेको छ’’, लक्ष्मीदेवीले भन्नुभयो, ‘‘रासायनिक विषादीको प्रयोग घटाइरहेका छौँ, जैविक विषादी घरमै बनाउने गरेका छौँ, जसले उत्पादन बढेको छ, उत्पादन विषादीरहित हुँदै गएको छ ।’’

किसान जयसरा देवीले पनि माटो परीक्षण गरेपछि माटो अवस्था, कुन समयमा कुन खेती गर्दा बढी उत्पादन लिन सकिन्छ, मल प्रयोग र वातावरण कसरी जोगाउने भन्नेबारे पनि सिक्नुभएको छ । ‘‘नियमित खेती गर्न हुँदैन रहेछ भन्ने सिके, माटोभित्र पनि रोग हुनसक्छ, त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने सिकाइ भएको छ’’, उहाँले भन्नुभयो, ‘‘माटो मलिलो बनाउने, कुन खेती गर्दा माटो जोगिन्छ भन्नेबारे पनि सिकेका छौँ ।’’

कैलालीमा स्थानीय तह र विभिन्न सङ्घ संस्थाको सक्रियतामा माटो जाँच कार्यक्रम हुने गरेका छन् । माटो जाँच गरेर आफ्नो खेतबारीको माटोको अवस्था थाहा पाउनु अघि जथाभावी रासायनिक मल प्रयोग गर्ने किसान अहिले प्राङगारिक, गोठे मलको प्रयोग बढाइरहेका स्थानीय कर्णबहादुर थापाले बताउनुभयो । ‘‘माटो, मानिसको जीवन र वातावरण संरक्षण गर्ने जिम्मा किसानकै हातमा रहेछ’’, उहाँले भन्नुभयो, ‘‘यसमा स्थानीय सरकारले साथ दिनुपर्छ । हामीले प्राविधिक ज्ञान पाइरहेका छौँ ।’’

कैलालीकै जोशीपुर गाउँपालिका–२ मुद्धिका किसान प्रेमलाल महत्तोको खेतीपाती गर्ने तरिका हिजोआज बदलिएको छ । पहिले उत्पादन बढाउन रासायनिक मल धेरै हाल्दा उल्टै उत्पादन घट्यो । छरछिमेकमा सल्लाह गरेर माटो परीक्षण गर्ने निधो गरेपछि थाहा भयो माटोमा अमिलोपना बढेको तथा प्राङ्गारिक मलको कमी भएको रहेछ । कृषि प्राविधिकको सल्लाह अनुसार उनीहरुले खेती गर्ने तरिका बदलेपछि हाल उत्पादन बढेको छ ।

‘‘विगतमा हामी उत्पादन बढी लिने प्रयासमा माटो बिगार्ने काममा सक्रिय रहेछौँ भन्ने बुझेको छु’’, उहाँले भन्नुभयो, ‘‘माटो बचे पो जीवन बच्न भन्नेमा सचेत भएको छु । माटोमा बढेको अमिलोपना घटाउन ढैँचा जस्ता खेती, लहरे बालीमा ध्यान दिएका छौँ ।’’

कैलालीमा माटो जाँच गर्ने र माटो परीक्षण कार्डको आधारमा रासायनिक मलको मात्रा मिलाएर हाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानलाई गोबर मल, हरियो मल जस्ता प्राङ्गारिक मल प्रयोग गर्न स्थानीय पालिका, रानी जमरा कुलरिया सिँचाइ आयोजनालेसमेत किसान सचेत बनाइरहेका छन् । स्थानीय तह र सिँचाइ आयोजनाले किसान पाठशाला जस्ता कार्य गरेर हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिन थालेका छन् ।

जोशीपुरकै अर्का किसान प्यारेलाल महत्तो सबैतिरको प्रयासले किसानको बालीको उत्पादन बढ्नुका साथै माटोको गुणस्तर पनि सुधार हुँदै गएको र यसले गर्दा दिगो माटो व्यवस्थापनमा सघाउ पुगिरहेको उहाँको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ । अनि, प्राङ्गारिक मल र प्राङ्गारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन् ।

पालिकामा रहेका कृषि शाखामार्फत रासायनिक मल र विषादी दुबैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तर अनुसार खेती गर्ने काम भइरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरी बताउनुहुन्छ । ‘‘सुरुमा किसानको बारीको माटो जाँच हुन्छ, सोही अनुसार खेतीबाली लगाइन्छ’’, उहाँले भन्नुभयो, ‘‘यसरी खेती गर्दा उत्पादन बढ्छ, माटोको गुणस्तर बिग्रदैन । वातावरण संरक्षणमा सहयोग पुग्छ ।’’जानकी गाउँपालिकाले गतवर्ष माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा हरेक वडाका १०/१० किसानलाई माटो परीक्षण कार्ड उपलब्ध गराएको थियो । यस वर्ष पालिकामा दुई सय ६२ किसानले माटो परीक्षण कार्ड बनाएका छन् ।

‘‘किसानमा माटो सुधार गर्नुपर्छ भन्ने जनचेतना बढाउन र माटो सुधार गरी उत्पादन र वातावरणमा नै सुधार गर्न पालिकाले लगानी बढाएको हो’’, उहाँले भन्नुभयो, ‘‘पालिकाले किसानलाई सचेत बनाउन यस वर्षबाट एकीकृत किट व्यवस्थापनका लागि आकस्मिक बाली संरक्षण सेवा पनि हरेक वडामा दिएको छ ।’’माटो परीक्षण गराएर किसानले काम गर्दा एकातिर माटोको स्वास्थ्य राम्रो हुने र अर्कातिर किसानले लगाएको बालीको फसल पनि राम्रो हुने विज्ञहरुको सुझाव छ ।

माटो विज्ञ श्रीप्रसाद विष्ट माटो स्वस्थ भएपछि विश्व नै स्वस्थ हुने भएकाले माटो सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । ‘‘अधिकांश जीवित प्राणीको गाँस र बास स्थान भनेको नै माटो हो’’, उहाँ भन्नुहुन्छ, ‘‘माटो नै स्वस्थ भएन भने धेरै क्षेत्रमा समस्या आउने गर्छ । त्यसैले माटो र वातावरण जोगाउने जिम्मा सबैले लिनुपर्छ ।’’

दुर्गा देवकोटा / रासस