
काठमाडौँ । बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा उनीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् ।
धादिङ–२ (ख) बाट निर्वाचित भएका तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले दबाब दिएर आफ्ना काका ससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धी विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
पक्राउ पुर्जी जारी हुनेहरूमा तामाङसहित सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् । उनीहरु प्रोसोलुसन्सका संस्थापकहरू हुन् ।
ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेको थियो । तर, तामाङ लगायतले त्यसविरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए । उच्च अदालतले समेत गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।
२०७४ कात्तिकमा चीनको पिगांओ ग्रुप अफ कम्पनिजले चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तरगतको चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का १ अर्ब ११ करोडमा पाएको थियो । त्यो ठेक्काको सव–कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको दबाबबाट सहन इन्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट भने आफ्ना कान्छा ससुरा (बागमती प्रदेश सांसद डम्बर तामाङ)को प्रो–सोलुसन्सलाई दिलाएका थिए ।
त्यस ठेक्कामा सहन कन्स्ट्रक्सनले करिब ६६ करोड लगानी गरिसकेको थियो । तर, करिब ३८ करोड भुक्तानी पाएको बताइन्छ । पिंगाओले सहनलाई पैसा भुक्तानी गरेपछि उसले तामाङको प्रो सोलुसन्सलाई दिनुपर्नेमा घिसिङको दबाबमा कामको रकम पिगांओ मार्फत सोझै प्रो– सोलुसन्सलाई दिइएको थियो ।
तर, उसले सहन कन्स्ट्रक्सनलाई उसले पाउनुपर्ने रकम नदिएको खुलेको छ । यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ ।