१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे



अ+ अ-

कीर्तिपुर, (काठमाडौँ) । मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।

त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी त्रिवि छात्राबास पुग्नुभएको थियो ।

विश्वविद्यालयको छात्राबासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवत: यो पहिलो घटना हो । संसदीय टोलीलाई छात्राबास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच आदि साधन अत्यन्त फोहर भएको देखाएका थिए । यसबारेमा बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गरेको र कतिपय अवस्थामा छात्राबासका वार्डेन लगायतबाट उल्टै रुखो व्यवहार र हप्कीदप्की हुने गरेको बताएका थिए ।

“पढ्न आएका हामीहरू समयमा मुख धुने पानीसमेत नपाए तनावमा पर्नुपर्यो, योसँगै भान्साको समेत समस्या बताउँदा वार्डेन म्यामलले ‘सरकारी होटलमा बसेपछि यस्तै हो, जे मिल्छ त्यसैले चलाउनु’, भन्नेसम्मको रुखो जवाफ दिनुभयो”, एमएस्सी तेस्रो सेमेष्टरकी छात्रा सविना रेग्मीले सांसद टोलीसमक्ष भन्नुभयो । छात्राहरू रहने ठाउँमा पानी र सरसफाइ अनिवार्य हुनुपर्ने कुराप्रति त्रिविका पदाधिकारीहरू असंवेदनशील रहेको पनि उहाँले बताउनुुभयो । “पानी अत्यन्त कम र त्यसमाथि पनि प्रयोग गर्न नै नमिल्ने गरी धमीलो पठाइयो । महिनावारी भएका बेलामा पनि एक जग पानीले सरसफाइ गर्नुपर्नेसम्मको कष्ट हामीले भोग्नुपर्यो”, अर्की छात्रा रोहना जोशीको भनाइ थियो । तत्काल समाधान गर्न सकिने र आपत परेको कुरा लिएर जाँदा पनि सरकारी काम हो समय लाग्छ, भन्ने जवाफ दिइने गरेको पनि उहाँले बताउनुभयो । सासाना समस्या पनि समाधान नगरीदिँदा छात्राबासमा बिजुली वा अरु पूर्वाधार बिग्रेका अवस्थामा छात्राहरूले आफैँ पैसा उठाएर मर्मत गर्नुपर्नेसम्मको अवस्था सृजना गरिएको उहाँले बताउनुभयो ।

छात्राबासको निरीक्षण र छात्राहरूको गुनासो सुनेपछि संसदीय टोलीले केन्द्रीय क्याम्पसका प्राचार्य अकलदेव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग समस्याबारे सोधपुछ गरेको थियो । सांसदहरूले आफूहरूले छात्राबासमा अवलोकन गर्दा सुरसफाइ र स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पनि नपुर्याइएको पाएको बताएका थिए । “त्रिविको केन्द्रीय क्याम्पसजस्तो प्रतिष्ठित संस्थामा यस्तो दुरावस्था देखिनु दूर्भाग्यपूर्ण हो, विद्यार्थीलाई स्वच्छ पानी र आधारभूत सरसफाइबाट वञ्चित गराएर मानवअधिकार उल्लङ्घन गरिएको छ”, समितिका सभापति खानले भन्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदीले छात्राबासको भोजनालयमा खाद्यान्नको स्वच्छतालाई सर्वाधिक प्राथमिकता दिइनुपर्ने बताउनुभयो । आफूले त्यहाँ प्रयोग भएको पानीको नमूना सङ्कलन गरेको बताउँदै उहाँले विभागमा त्यस पानीको स्वच्छताबारे जाँच गरिने बताउनुभयो । छात्राबासका समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै उहाँले विद्यार्थीबाट फेरि पनि सोही खालको गुनासो आए समितिले थप कदम चाल्ने चेतावनी दिनुभयो ।

त्रिवि स्ववियुका सभापति दीपकराज जोशीले त्रिवि पदाधिकारीहरूमा विद्यार्थी नरम स्वरले उठाएका कुरा बेवास्ता गर्ने र सोही कुरा दबाबमूलक ढङ्गले राखेपछि मात्र पूरा गर्ने प्रवृत्ति रहेकाले समस्या जटिल हुन गएको बताउनुभयो । शौचालय व्यवस्थापन गर्न राखिएको माग सुन्दै सुनिएन अनि त्रिवि प्रिन्सिपल कार्यालयको शौचालय बन्द गरेपछि बल्ल माग पूरा भयो”, उहाँले बताउनुभयो । रासस