१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्रीको टिप्पणीले समाजवादीमा खैलाबैला, नैतिक प्रश्न उठाइएपछि माधवमाथि दबाब



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरी नेतृ रामकुमारी झाँक्री गरेको टिप्पणीले पार्टीभित्र खैलाबैला मच्चिएको छ ।

पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालबारे नेतृ झाँक्री तिखो टिप्पणी गरेपछि नेकपा एकीकृत समाजवादीमा खैलाबैला भएको हो ।

रामकुमारीले बुटवलमा आयोजित युवा संघ लुम्बिनी प्रदेशको कार्यक्रममा अध्यक्ष नेपालबारे कडा र तिखो अभिव्यक्ति दिएकी थिइन् । जबकी पार्टी गठन हुँदा माधवकुमार नेपालकी सबैभन्दा प्रिय पात्र नै झाँक्री थिइन् । अरु नेताहरु ढुलमुलकै अवस्थामा रहे पनि झाँक्रीले नेपाललाई डोर्‍याएरै पार्टी दर्ता गराउन निर्वाचन आयोग लगेकी थिइन् । त्यसबेला झाँक्रीले देखाएको हिम्मतको प्रशंसा पनि भएको थियो ।

तर अहिले उनै झाँक्री अध्यक्ष नेपालसँग रुष्ट भएका हुन् । भ्रष्टाचार मुद्दा दायर भए पनि अध्यक्ष नेपालले नैतिकता देखाउन सकेका छैनन् । पार्टी संसदीय दलको नेता र अध्यक्ष कायमै छन् । विगतमा नैतिकको पाठ सिकाउने नेपाल अहिले आफैं नैतिकता देखाउन नसक्ने अवस्थामा पुगेका छन् । यसले समाजवादी पार्टीलाई नै क्षति पुगेको छ । त्यही कारण झाँक्रीले काँधमा सिनो बोकेर हिँड्न नसकिने टिप्पणी गरेकी हुन् ।

यो पनि पढ्नुहोस -काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैनस् रामकुमारी झाँक्री

त्यसो त झाँक्री पछिल्लो समय अध्यक्ष नेपालसँग असन्तुष्ट रहँदै आएकी थिइन् । उनी एकीकृत समाजवादीमा रहे पनि मन भने बाहिरिइसकेको टिप्पणी पनि हुँदै आएको छ । किनकी उनले एकीकृत समाजवादीको महाधिवेशनमा उपाध्यक्षमा उम्मदवारी दिएर पराजित भएकी थिइन् । उनले आफ्नो पराजयमा अध्यक्ष माधव नेपालको हात रहेको आरोप लगाउने गरेकी थिइन् । अध्यक्ष नेपालले गुटबन्दी गरेकाले आफू पराजित हुनु परेको उनको भनाइ थियो । त्यसयता पनि उनले नेतृत्वको आलोचना गर्ने गरेकी थिइन् ।

अहिले त झन् अध्यक्ष नेपाल नै भ्रष्टाचारका आरोपी भएपछि झाँक्रीले आक्रोस व्यक्त गरेकी हुन् । आरोप लागेपछि अध्यक्ष र संसदीय दलको नेताबाट नैतिकता देखाउँदै राजीनामा दिनुपर्ने उनको मत रहेको देखिन्छ ।

झाँक्रीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन् । उनले अब अर्ली महाधिवेनमार्फत् नयाँ नेतृत्व ल्याउनुपर्ने पनि बताएकी थिइन् ।

‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, उनले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

उनले यदि काँधमा मरेको सिनो हालेर हिँडिरहने हो भने पार्टी धेरै छिटो विघटन हुने बताएकी थिइन् ।

‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिदैन, नत्र यो पार्टी धेरै छिटो विघटन हुन्छ’, उनले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपालतिर लक्षित गर्दै भनिन्, ‘यही नाममा यो जञ्जालभित्र हाल्ने हो भने हामीले यो दु:ख पनि नगरौँ । यस्तै संकटहरूबाट हामी उठनुपर्छ तपाईं–हामी सबैलाई थाहा छ । अध्यक्षकैबारे संकट आएको छ । अब के गर्ने त हामीले, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरेर पार्टी पुनर्गठन गरौँ ।’

रामकुमारीको आक्रोसित अभिव्यक्तिपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आइतबार परिपत्र नै गरेर अध्यक्ष नेपालविरुद्ध कुनै किसिमको टिप्पणी नगर्न निर्देशन दिएका छन् ।

भुसालले जारी गरेको उक्त एक पृष्ठको सर्कुलरमा अध्यक्ष नेपालविरुद्ध कुनै पनि किसिमको टिप्पणी नगर्न भनिएको छ ।

भुसालले उक्त लिखित सर्कुलरमा नेपालविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा यसअघि नै पार्टीले औपचारिक धारणा ल्याइसकेकाले त्यससँग बाझिने गरि कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिन भनेका छन् । भुसालले पार्टीको विचारसँग बाझिने गरि सार्वजनिक रूपमा नबोल्न र नलेख्न नेता–कार्यकर्ताहरूलाई लिखित निर्देशन दिएका हुन् ।