८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

पाखाबारीमा लोभलाग्दो केराखेती : १५ लाखसम्म आम्दानी

पाखाबारीमा लोभलाग्दो केराखेती : १५ लाखसम्म आम्दानी
अ अ+ अ-

बेनी, (म्याग्दी) । बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लाग्नुभएको थियो ।

“अहिले मेरो सबै जग्गामा केराखेती छ, करिब २५ रोपनीमा केराखेती विस्तार गरेको छु, वार्षिक रूपमा रु १० देखि १५ लाख केराबाट आम्दानी हुन्छ, नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरेको छु”, खत्रीले भन्नुभयो । परम्परागत रूपमा धान रोप्ने खेत र मकै, कोदोलगायत अन्नबाली लगाउने बारीमा खत्रीले व्यावसायिक केराखेती लगाउनुभएको छ ।

केराखेतीका लागि आवश्यक पर्ने मलका लागि कुखुरापालन पनि गर्नुभएका खत्रीले परम्परागत खेतीबालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ । उहाँका चारवटा केराखेतीको बगान छन् । काउलेगौँडामा विगत एक दशकयता केराखेतीको लहर चलेको हो । यहाँका करिब एक सय ५० घरपरिवार सबैले केराखेती गरेका छन् । काउलेगौँडाको थाकन, गौउथले, मुलबारी, पाटारुख, बराहथान तुसारेलगायत क्षेत्रमा केराखेतीको व्यावसायिकता बढेको छ ।

यस गाउँमा रुद्र चोखाल, दीपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेतलगायतले केराको व्यावसायिक खेती गर्नुभएको छ । काउलेगौँडाका विभिन्न टोलबस्तीमा करिब चार सय रोपनीमा केराखेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले समेत साढे पाँच रोपनी बढी जग्गामा केराखेती गर्नुभएको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत काउलेगौँडामा एक सय २० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ बिरुवा लगाइएको छ ।

पच्चीस जना किसान आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको रु १२ लाख अनुदान र किसानको रु १२ लाख बराबरको साझेदारीमा एक सय २० रोपनी जग्गामा केराखेती विस्तार गरिएको छ । दुईवटा माटे पोखरी र एक ढलान गरेको पक्की सिँचाइ पोखरी निर्माण गरी स्थानीयस्तरमा रहेका मुलको पानीलाई जम्मा गरेर तीन हजार पाँच सय मिटर पाइप लाइन विस्तार गरेर केराखेती भएको ठाउँमा सिँचाइको बन्दोबस्त मिलाइएको समूहका अध्यक्ष चोखालले बताउनुभयो । पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत भर्याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणसमेत खरिद गरी वितरण गरिएको छ । यहाँ हजारी, धुर्से र मुर्रे जातका केराखेती हुँदै आएको छ ।

काउलेडौँडा क्षेत्रमा अहिले स्थानीय पानीका मुलहरूलाई जम्मा गरेर केराखेतीमा सिँचाइको प्रबन्ध मिलाउँदै आइएको छ । व्यावासायिक रूपमा खेती विस्तार भइरहेकाले निकट भविष्यमा हिउँदयाममा केरालाई सिँचाइको अभाव हुने भएकाले रघुगङ्गा र कालीगण्डकी नदीबाट लिफ्ट प्रविधिको सिँचाइ आयोजनाका लागि माग गरिएको कृषक समूहका अध्यक्ष चोखालले जानकारी दिनुभयो ।

अन्नबाली छाडेर केराको व्यावसायिक खेती

युवायुवती वैदेशिक रोजगारको कारण विदेश जाने र गाउँघरमा अन्नबालीको खेती लगाउन काम गर्ने जनशक्ति पाइन छाडेपछि स्थानीयले केराखेती सुरु गरेका थिए । खेतबारीलाई बाँझो रहन नदिन सुरु भएको केराखेती अहिले गाउँको आम्दानीको प्रमुख स्रोत बनेको छ । गाउँमा अधिकांशले खेतीयोग्य जमिनका साथै पाखो बारीमा पनि केराखेती लगाएको स्थानीय कुलबहादुर बस्नेतले बताउनुभयो ।

“करिब आठ रोपनी जग्गामा केराखेती विस्तार गरेको छु, अहिले त्यसले उत्पादन दिन थालेको छ, उत्पादन भएको केरा बिक्रीका लागि बजार अभाव छैन, खेती गर्न पनि कठिन छैन”, बस्नेतले भन्नुभयो । व्यावसायिक रूपमा पशुपालन गरेर दूध बिक्री गर्दै आउनुभएका बस्नेतले गाउँ नजिकै रहेको गलेश्वर बजारमा दूध तथा केरा बिक्री गरेर मासिक रु २७ हजारबराबर आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो ।

गाउँमा अधिकांश घरले केराखेतीबाट नगद आम्दानी गर्न थालिसकेका छन् । परम्परागत खेतीबाट नगद आम्दानी नहुने र श्रम गर्ने जनशक्तिको अभाव हुन थालेपछि अन्नबालीको विकल्पमा यस गाउँमा केराखेती विस्तारले तीव्रता पाएको थियो । स्थानीय किसान टेकबहादुर भण्डारीले अन्नबालीको तुलनामा केराखेतीबाट तेब्बर बढी आम्दानी हुने गरेको सुनाउनुभयो ।

करिब पाँच वर्षदेखि केराखेती गर्नुभएका बस्नेतले धानखेती हुने करिब आठ रोपनी खेतमा केराखेती विस्तार गर्नुभएको छ । “अन्नबाली लगाउनुभन्दा केराखेतीबाट धेरै फाइदा छ, बिरुवा लगाएपछि हिउँदयाममा सिँचाइ पुर्याउन सकियो भने उत्पादन राम्रो हुन्छ, पहिले अन्नबाली लगाउने स्थानीय अहिले फलफूलखेतीतर्फ आकर्षित भएका छौँ”, उहाँले भन्नुभयो ।

स्वरोजगार र समृद्धिका लागि पकेट क्षेत्र विस्तार

म्याग्दी अहिले पनि केरामा आत्मनिर्भर बन्न सकेको छैन । बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ९ को काउलेगौँडा केराखेतीको पकेट क्षेत्र मानिन्छ । नगरपालिकाले सम्भावित खेतीको व्यावसायिकता बढाउन र किसानलाई स्वरोजगार, जिल्लालाई आत्मनिर्भर, गाउँलाई समृद्धिको बाटोमा अघि बढाउन पकेट क्षेत्र विस्तारलाई जोड दिएको छ ।

चालु आर्थिक वर्षमा वडा नं ३ भकिम्लीलाई विकी र वडा नं ९ घतानको काउलेगौँडालाई केरा पकेट विस्तार कार्यक्रम सञ्चालन गरी किसानलाई प्रोत्साहन गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार, नगरपालिका र कृषक समूहको रु १२–१२ लाखको साझेदारीमा सञ्चालन गरिएको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमबाट कम्तीमा ६० प्रतिशत रकम केराको क्षेत्र विस्तारमा लगानी भएको छ ।

बेनी –९ घतानका वडाध्यक्ष चक्रबहादुर केसीले निर्वाहमुखी खेती किसानीबाट काउलेगौँडाका किसान केराखेतीको व्यावसायिकतामा लागेको बताउनुभयो । स्थानीयले खेतबारी बाँझो रहन नदिन सुरु गरेको केराखेती सफल भएपछि अहिले अभियानकै रूपमा केराखेती विस्तारले तीव्रता पाएको र यसले यहाँका स्थानीयको जीवनस्तर सुधारमा पनि सघाउन थालेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । यहाँ उत्पादन भएको केरा अहिले गलेश्वर बजार र सदरमुकाम बेनीमा खपत हुँदै आएको छ । बजार खोज्न नपर्ने र व्यापारी केरा खरिदका लागि गाउँमै पुग्ने भएकाले केराखेतीमा आकर्षण बढेको छ । बोट लगाएको दुई वर्षभित्र नै उत्पादन दिन सुरु गर्ने र एउटा बोटबाट दर्जनौँ घारीका रूपमा विस्तार हुने तथा अन्य फलफूलको तुलनामा गोडमेल र मलजलमा समेत झन्झट कम हुने भएकाले केराखेती किसानको रोजाइमा पर्न थालेको छ । म्याग्दीमा अहिले पनि बाहिरबाट केरा आयात हुने भएकाले केराखेतीको पकेट विस्तारले जिल्लालाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । रासस