काठमाडौँ । प्रहरीले सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ कोलगाउँकी १६ वर्षीया निशा तामाङको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हत्यामा संलग्न आरोपमा पक्राउ परेका भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई सार्वजनिक गरेको हो ।
निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् । आरोपीहरूले असार १० मा बलात्कारपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।
आरोपीहरूविरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।










