४ श्रावण २०८३, सोमबार
,
Latest
कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन



अ+ अ-

म्याग्दी । पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएको छ ।

शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिनुभयो । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उहाँसँगै श्रमतीतले गीताले अरिङ्गालपालन गर्नुभएको हो ।

“नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिङ्गालपालन सफल भएको छ”, गीताले भन्नुभयो, “मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिङ्गाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।”

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहनुभएकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएका श्रीमान् अशोकले साथ दिनुभएको छ ।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिङ्गालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिनुभयो । “जङ्गलमा अरिङ्गालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ”, अशोकले भन्नुभयो, “अरिङ्गालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच ९सेफ्टी बेल्ट० प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिङ्गालको गोला ल्याएर पाल्ने गरेका छौँ ।”

जङ्गलबाट ल्याइएको अरिङ्गाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ । “बेनीका होटलमा अरिङ्गालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको छ”, शाहीले भन्नुभयो ।

गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताउनुभयो । “एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई÷दुई महिनामा लार्भा निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो ।

पालेका अरिङ्गाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिङ्गालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताउनुभयो ।

शक्तिवद्र्धक मानिने अरिङ्गालको भुटेको लार्भा प्रतिरिकापी रु ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताउनुभयो । अरिङ्गाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उहाँको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिङ्गालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन् ।

“अरिङ्गाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिङ्गाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ”, अशोकले भन्नुभयो, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।” उहाँका अनुसार रातो र कालो जातका अरिङ्गाल बढी पाइन्छन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिङ्गालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताउनुभयो । “लार्भाका लागि गोला पोलेर अरिङ्गालको वंशनै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ”, उहाँले भन्नुभयो, “जोखिम भएकाले अरिङ्गालपालनमा सावधानी भने अपनाउन आवश्यक छ ।”रासस