काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताउनुभएको छ ।
नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मलको हाहाकार रहेको र भइरहने पनि बताउनु भयो ।
उहाँले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताउनु भयो । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पु¥याउनसक्ने स्थिति नरहेको बताउनु भयो । उदारो दुध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उहाँले दुःखेसो गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उदारो दुध वर्षौंदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने ? समस्या धेरैतिर छ । तर पनि खुशी मानेर सबैका बीचमा उभिनुपर्ने रहेछ । हामीले जुनसुकै पेशा र व्यवसाय गरौँ । कमजोरी नगरौँ । तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ । एउटा भैँसी र एउटा गाई पाल्नका लागि असाध्यै कठिन हुन्छ । तल्लो तहमा रहेका मानिसहरुलाई धोका नदिऔँ ।
म मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो, नयाँ परिवर्तन गर्छु, यदी मुलुकमा हामीसँग आर्थिक सिमितता, आर्थिक संकुचन थिएन भने धेरै चिज हामीले गथ्र्यौं । मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भएपनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन । बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एक चौथाई मलले हामीले कसरी किसानलाई समयमा पुर्याउन सक्छौँ । सम्भावनै छैन । तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ ।’
मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरु रहेको बताउनु भयो ।










