३ श्रावण २०८३, आईतवार
,
Latest
अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी नेकपा संयोजक दाहाल स्वदेश फिर्ता राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यकः विज्ञ राई काठमाडौं महानगरको सम्पत्ति कर यथावत्, १० करोडमाथि अधिकतम ०.६ प्रतिशत कर औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’ सन्तनेता भट्टराईको उपाधि अमिट छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र



अ+ अ-

म्याग्दी । आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत १४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती भएको जानकारी दिनुभयो ।

“समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेलालगायत तरकारीखेती भएको छ,” उहाँले भन्नुभयो, “पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौँ ।”

गाउँपालिकाको रु ११ लाख ९९ हजार ३२२ र कृषकको रु आठ लाख ५४ हजार ८९८ गरी कुल रु २० लाख ५४ हजार २२१ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ । कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन् ।

आठवटा प्लाष्टिक घर निर्माण, चारवटा मिनिटेलर हलो, पाँच तराजु, एक हजार लिटर क्षमताको १३ वटा सिँचाइ ड्रम, दुई हजार ४०० मिटर पाइप, २५ वटा पाँच लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, २०० वटा क्रेट, नौवटा थोपा सिँचाइ सेट, १४० थान स्पिङ्कल, ९८ किलोग्राम लुज पाइप र १०० वटा सिड ट्रे वितरण गरिएको छ ।

रु एक लाख ३५ हजारको बीउ, रु एक लाखको सुष्म तत्व र जैविक मल, रु एक लाखको विषादी तथा रु ३० हजार बराबरको २०० किलोग्राम पिटमस वितरण गर्नाका साथै तीनदिने तरकारीखेतीसम्बन्धी तालिम सञ्चालन भएको थियो । उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारीखेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताउनुभयो । टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायतका ठाउँमा बिक्री हुने गर्छ ।

दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु छ लाख बजेट प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।रासस