काठमाडौँ: नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले राष्ट्रिय समाचार समिति (रासस)मा प्रदर्शनीमा राखिएका तस्बिर सुन्दर र शिक्षाप्रद भएको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकनपछि आज उहाँले तस्बिर प्रदर्शनीमा अन्वेषण गर्न योग्य विषय रहेको उल्लेख गर्नुभयो ।
राजदूत हाश्मीले भन्नुभयो, “हिमालहरूमा नपुगिकनै पनि, मैले राससका रिपोर्टर र फोटोग्राफरहरूको लेन्समार्फत ती दृश्यहरू हेर्न पाएँ । तस्बिरलाई यस प्रदर्शनीसम्म ल्याउनु भएकामा धेरै–धेरै धन्यवाद ।” उहाँले रासस व्यवस्थापक पक्षसँग तस्बिरलाई पुस्तकको रूप दिन सुझाव दिनुभयो ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।रासस










