१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै



अ+ अ-

गुल्मी । सत्यवति गाउँपालिका–८ भार्र्षका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उहाँको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उहाँले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुनुहुन्छ । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किबीखेती गर्न सुरु गर्नुभएको हो । उहाँले आठ रोपनी जग्गामा किबीखेती गर्दै आउनुभएको छ । उहाँको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किबीका बिरुवा छन् ।

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उहाँले गत वर्ष रु चार लाखको किबी र रु दुई लाखको किबीका बिरुवा बिक्री गरेको बताउनुभयो । तीन वर्षबाटै किबीले उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको होे ।

एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किबी फल्ने गरेको छ । उहाँको बारीमा अहिले एक सय ५० किबीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो ।

“त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उहाँले भन्नुभयो । किबीमा अन्य जातका फलफुलमा भन्दा रोग खासै नलाग्ने भएको उहाँले बताउनुभयो । “वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भन्नुभयो ।

उहाँले उत्पादन गरेको किबी बजारमा रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उहाँले किबीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गर्नुभएको छ । किबीलाई बजारको खासै समस्या नभएको थापाले बताउनुभयो । थापाले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई रु एक सय ५० देखि रु दुई सय पर्दछ ।

गाउँपालिकाले भार्षेलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो ।

किबीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किबी राम्रो मानिन्छ । यसको मुल्य अन्य जातको किबीको भन्दा रु एक सय बढी पर्दछ । भार्षेमा पाँच वटा किबी समूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन् ।