काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ । साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ पूर्जी लिएको थियो ।
ब्यूरोले आज जारी गरेको सूचनामा भनिएको छ– ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिएको छ ।’

उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
आफूविरुद्ध जारी पक्राउ पुर्जी गलत कानुन लगाई र गलत नियतका साथ जारी भएको भन्दै पाठकले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम जारी गरेको थियो ।
अदालतले दुवै पक्षलाई छलफलका लागि असार ५ गते बोलाएको छ । सोही दिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय हुने छ । तर प्रहरीले आजै सूचना जारी गरेर पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।










