२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा नयाँ राजनीतिक तरंग : ओलीको विकल्पमा दाहाल कि नेपाल ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मदन भण्डारीकाे ६९औं जन्मजयन्तीको अवसरमा सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउनका लागि लागिपरेको भन्दै गम्भीर आरोप लगाउनुभयो । यसअघि सरकार परिवर्तनमा कुनै न कुनै रुपमा छिमेकीको भूमिका  रहने अनुमान गरिँदै आएको भएपनि  यस पटक राज्यसत्ताको बागडोर सम्हालेर बसेका शक्तिशाली प्रधानमन्त्रीले खुल्ला रुपमा नै आफ्नो नेतृत्वको सरकार ढाल्नका लागि भारत सक्रिय रहेको आरोप लगाएपछि यस विषयले राजनीतिक क्षेत्र तंरगित भएको छ । 

राज्यशक्तिको सम्पूर्ण स्राेत हातमा भएका प्रधानमन्त्रीले यस्तो गम्भीर आरोप अनुमानका भरमा त पक्कै पनि लगाउनु भएन होला । त्यसमाथि देशका गुप्तचर संयन्त्रहरु प्रधानमन्त्री मातहत नै छन् । नेकपा स्थायी समितिको बैठक सुरु भएकै बेला ललितपुरको एक  प्रतिष्ठित होटलमा आफ्नो पार्टी सहित प्रमुख प्रतिपक्ष दलका केही नेता, तथा जनता समाजवादीका नेताहरु र कुटनीतिज्ञहरुको रात्रिभोज र त्यहाँ भएको कुराकानीको  रिपोर्टिङ्ग लिएपछि प्रधानमन्त्रीले  छिमिकी विरुद्धको राजनीतिक फायर खोल्नु भएको हुनसक्छ । यस कुराको छनक स्थायी समितिको बैठककै बेला पनि केही सदस्यले मधुरो स्वरमा  उठाएका थिए तर बाहिर त्यति आएन । 

फागुनदेखि नै सरकार परिवर्तनका लागि भैरहेका प्रयास र त्यसलाई रोक्न ओलीले अपनाउँदै आएका रणनीतिहरुका बारेमा पार्टी शीर्ष नेताहरु बीच पटक पटक दाउपेच बारे छलफल नभएका होइनन् । नेपालको  नयाँ राजनीतिक नक्सा, नागरिकता विधेयक , एमसीसी जस्ता विषयमा प्रायः शीर्ष नेताहरु मौन नै बसे । आफ्नो सरकार कुनै पनि बेला पार्टी भित्र अल्पमतमा पर्न सक्छ भन्ने राम्ररी बुझेका ओलीले कुनै न कुनै रुपमा ती संकट पार लगाउँदै आए ।  

जसका कारण स्थायी समितिको बैठकमा पार्टीभित्र नै कडा प्रतीपक्षहरु भएको र सरकार असफल बनाउन लागेको भन्दै ओलीले असन्तुष्टि जनाउनु भएको थियो । आफूबिरुद्ध मोर्चाबन्दी हुने र चर्को आलोचना हुने छनक पाएपछि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बैठक सञ्चालनको जिम्मा दिएर बाहिरनु भयो । बैठकबाट बाहिरिएपछि बैठकको अवलोकन भने आफ्नो कार्यकक्षबाट गरिरहनु भएको थियो । बैठकको सुरुवातमा  नै आफूबिरुद्ध अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आक्रामक हुने, सरकार परिर्तनको मुद्दा तथा एक व्यक्ति एक पदको कुरा उठ्ने छनक पाएपछि बैठकको सुरुवातमा नै ओली चर्को रुपमा प्रस्तुत हुनुभयो । 

तर दुई नेता दाहाल र नेपाल ओली बिरुद्धको मोर्चामा एक भएपनि एकअर्का प्रति उत्तिकै शसंकित छन् ।  स्रोतका अनुसार दाहालले केही समयअघि आफ्ना निकटवर्तीहरुसँग दाहालले आफू प्रधानमन्त्री हुन इच्छुक रहेको  तर माधव नेपालको पल्ला भारी हुँदै गएको भन्दै नेपालप्रति असन्तुष्टि जनाउनु भएको थियो । ओली खेमाले सहयोग नगर्ने तथा विशेषगरी दक्षिणले पनि आफूलाई पर्ख र हेरको रणनीतिमा राखेको भन्दै प्रधानमन्त्री बन्ने अवसर नआए भरसक ओलीलाई गलाएर पार्टीको पूर्ण कार्यकारी अधिकार लिने पार्टीले सरकार सञ्चालन गर्ने वातावरण बनाउँदै आफू सक्रिय हुने र माधव नेपाललाई छेक्ने रणनीतिमा दाहाल रहेको बुझिएको छ । 

 

भरसक वर्तमान सरकारले गरेका केही राम्रा कामको जस सामूहिक रूपमा लिने र कमीकमजोरी, अपजस ओलीलाई मात्र  दिने रणनीतिमा रहेका  नेताहरु  सरकार बिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । प्रधानमन्त्रीले १५ दिनभित्र सरकार परिर्तन हुन्छ भन्दै आफ्नै पार्टीका नेताहरु हिँडेको भन्दै नेपालको नागरिकता बोक्ने तर विदेशीको लागि काम गर्नेहरु सक्रिय रहेको आरोप लगाउनुभयो । नेकपाभित्र  बढ्दै गएको ध्रुवीकरणका  कारण सरकारको नेतृत्व परिवर्तन गर्ने खेल आजसम्म मैदानबाहिर मात्र सीमित भएपनि अब भने मैदानभित्र नै प्रवेश गरेको छ । आफू  कुनै पनि बेला बाहिरिनु पर्ने अवस्था बुझेका ओलीले देशी विदेशी शक्तिले राष्ट्रको पक्षमा काम गर्दा गर्दै हट्नु परेको भन्ने राजनीतिक नारा सुरक्षित राख्ने कोशिस गर्नुभएको छ । त्यसैले उहाँले आइतबार भन्नुभयो,  चीनसंग व्यापार तथा पारवहन संझौता गरेर फर्के पछि मेरो नेतृत्वको सरकार परिवर्तन भएको थियो । 

यसपटक पनि नक्सा जारी गरेपछि उस्तै नियति दोहोरिँदै छ । तर यदि ओलीले भनेजस्तो हिसाबले सरकारको नेतृत्व परिवर्तन भयो भने अब मैदानमा रहेका खेलाडीहरु दाहाल, नेपालले कसरी आफ्नो पल्ला भारी बनाउँछन् त्यो निकै चासोको विषय हुनेछ । यदि परिवर्तन भैहालेमा पनि फेरि सत्ता बाहिर रहने शक्तिहरु एकीकृत भइ उही नियति दोहो¥याउने छन् किनकी भनिन्छ राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । नत्र केही महिना अघिसम्म आफूहरुबीच केमेष्ट्रि मिलेको दाबी गर्दै आएका ओली र दाहाल यो अवस्थासम्म आइपुग्ने नै थिएनन् ।