१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा



अ+ अ-

सोलुखुम्बु । यहाँस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ ।

क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ । अस्पतालका निमित्त प्रमुख डा श्रेया पङ्गेनीले भन्नुभयो, “हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन् । प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीँबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ ।”

जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक,  दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो, असन्तुलित बनाएको छ ।

डा पङ्गेनी भन्नुहुन्छ, “एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ । मनोवैज्ञानिक दबाब धेरै छ ।” हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ ।

“हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक, शारीरिक थकान अत्यधिक छ । व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ”, अस्पतालमा कार्यरत्त स्टाफ नर्स दिप्ती चौधरीले भन्नुभयो ।

करारका कर्मचारीको भरमा अस्पताल 

अस्पतालमा ३२ जना करारका कर्मचारी छन् । ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन । वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्नुहुन्छ, “छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना, एक वर्षका लागि आउँछन् । तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन ।”

करारका चिकित्सकहरुले सक्दो योगदान दिएपनि उनीहरु लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बर चिकित्सकको अभाव झेल्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भन्नुभयो, “हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ । अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति—सबै कुरामा ध्यानाकर्षण गराएका छौँ । तर सुनुवाइ भएको छैन ।” उहाँले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको जानकारी दिनुभयो ।

प्रदेश  स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपुर्ती भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ । स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भन्नुभयो, “हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ । अहिले प्रदेशभर  जनशक्ति अभाव छ ।” रासस