८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हरित क्रान्तिमा तेह्रथुमका किसान

हरित क्रान्तिमा तेह्रथुमका किसान
अ अ+ अ-

तेह्रथुम । फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उहाँमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यहीबेला कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गत कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रम सुरु भयो ।

केशरबहादुर पनि त्यो कार्यक्रममा जोडिए । उक्त कार्यक्रममा आफू जोडिनु ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान चरितार्थ भएको अनुभूति भएको उहाँ सुनाउनुहुन्छ । “प्रक्रिया पुर्‍याएर कागजात पेस गरेको थिएँ, एक लाख रुपैयाँ अनुदान प्राप्त भयो, त्यहीँ अनुदानबापत प्राप्त भएको नगद लगानी गरेर काठ र फलफूलका बिरुवा रोपेको छु”, घिसिङले भन्नुभयो ।

अनुदान आएपछि रोपेका काठ र फलफूल घिसिङको बगानमा धमाधम हुर्किंदैछन् । उहाँले ४५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा अलैँचीसँगै ओखर, हलुवावेद जर्मन नस्पाती र खुर्पानीलगायत बिरुवा रोप्नुभएको छ । उहाँको बगानमा यतिबेला ती बिरुवा धमाधम हुर्किइरहेका छन् । “प्रदेश वन विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७९र८० मा प्राप्त एक लाख रुपैयाँ अनुदान सहयोगमा रोपेका बिरुवाले बगान हरियाली भएको छ”, घिसिङले थप्नुभयो ।

फेदाप गाउँपालिका–६ इसिबु घर भएका ६६ वर्षीय घिसिङ प्रायः आफूले रोपेका काठ, फलफूल र अलैँचीका बिरुवा गोडमेल गर्न व्यस्त भेटिनुहुन्छ । उहाँको नाममा दर्ता भएको कृषि फार्ममा उन्नत जातका सुन्तला, बोधिचित्त, ओखरजस्ता फलफूलका बेर्ना उत्पादन हुन्छन् । ती बेर्ना तेह्रथुम र धनकुटाका विभिन्न स्थानबाट आएका किसानले किनेर लैजान्छन् ।

उहाँले ५० वटा बोयर जातका बाख्रासमेत पाल्नुभएको छ । अलैँचीखेती, बेर्ना उत्पादन र बाख्रापालनबाट वार्षिक १० लाख रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको उहाँ सुनाउनुहुन्छ । “सात जनाको परिवार यहीँ आम्दानीले धानेको छ, उत्तिसका गोलिया हुर्केपछि बिक्री गर्दा एकामुष्ट आम्दानी हुन्छ, त्यो पैसा कृषि उद्यममै लगानी गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

पुस्तौँदेखि कृषिकर्म गर्दै आउनुभएका उहाँले कोसी प्रदेश सरकार मातहतको डिजिजन वन  कार्यालयबाट बिरुवा रोप्न पहिलोपटक अनुदान पाउनु भएको हो । “उजाड हुन लागेका कान्ला भित्तामा बिरुवा रोप्ने अनुदान पाइयो, धमाधम हरियाली फर्कंदैछ, पाखुरा बजार्नेहरुलाई पनि प्रदेश सरकारले हेर्दोरहेछ”, उहाँले भन्नुभयो ।

केशरबहादुर जस्तै तेह्रथुमकै मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका ऋषिबहादुर थापाले पनि ४० रोपनी क्षेत्रफलमा अलैँची र उत्तिसका विरुवा रोप्नुभएको छ । पाँच वर्षअघि पाँच लाख रुपैयाँको उत्तिसको गोलिया बेच्नुभएका उहाँले प्रदेश सरकारको कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रममार्फत एक लाख रुपैयाँ अनुदान पाएपछि पुनःउत्तिसका बिरुवा रोप्नुभएको हो । “दुई वर्षअघि रोपेको उत्तिस बगान मज्जाले हुर्कंदैछ, चार–पाँच वर्षपछि बगान हुर्कन्छ, अनि फेरि गोलिया बेच्ने हो”, उहाँले भन्नुभयो ।

जङ्गलमा उत्तिस रोप्दा धेरै मेहनत लाग्दैन, चाँडै हुर्किन्छन्, अरु बालीलाई जस्तो मलजल र स्याहार गरिरहनु पर्दैन र बिक्री गर्दा एकामुष्ट आम्दानी हुन्छ । प्रदेश सरकारको अनुदान आफ्ना लागि कोशेढुङ्गा सावित भएको थापा सुनाउनुहुन्छ । घिसिङ र थापा जस्तै प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गतको कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमबाट अनुदान पाएपछि तेह्रथुमका किसानले बाँझिएका र उजाड पाखामा काठ, फलफूल र नगदेबाली लगाएका छन् ।

वन क्षेत्रको विस्तारगरी वातावरणलाई हरियाली बनाउनसँगै कृषकलाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० देखि जिल्लामा यो कार्यक्रम लागू गरेको हो । डिभिजन वन कार्यालय तेह्रथुमका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रम जिल्लामा आर्थिक वर्ष २०७८र७९ देखि सुरु भएको हो । पहिलो वर्षमा जिल्लाका छ जना कृषकलाई अनुदान दिइएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०र८१ मा यो कार्यक्रमबाट जिल्लाका थप १० किसानलाई अनुदान दिइएको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ का लागि सात लाभग्राही कृषक छनोट भएका छन् । निजी काष्ट एवम् गैरकाष्ठ वनपैदावर प्रवद्र्धन गर्दै कृषकलाई कृषि वनबाट आयआर्जन मुखी क्रियाकलापमा जोड्न यो कार्यक्रम महत्वपूर्ण रहेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साह बताउनुहुन्छ । यस कार्यक्रममार्फत् प्रत्येक कृषकले एक लाख रुपैयाँ अनुदान पाउँदै आएका छन् ।

म्याङलुङ नगरपालिका १० साब्लाका विनोद सुवेदी डिभिजन वन कार्यालयबाट पाएको प्रदेश सरकारको अनुदानले ठूलो राहत भएको बताउनुहुन्छ । उहाँले आव २०७८र७९ मा एक लाख रुपैंया अनुदान प्राप्त गर्नुभएको थियो । यस वर्षका लागि लाभग्राही कृषकका रुपमा छनोट हुनुभएकी फेदाप गाउँपालिका–५ की प्रेमा लिम्बूले आफ्नो निजी वनमा लकडी ९गोलिया० का रुपमा प्रयोग हुने उत्तिस र तत्काल बिक्री हुने फलफूल रोप्ने योजना सुनाउनुभयो ।

आफ्नै लगानीमा गर्नुपर्ने कामका लागि सरकारले अनुदान दिँदा उत्साहित भएको लाभग्राही कृषककै रुपमा छनोट हुनुभएका म्याङ्लुङ नपा–२ का कुलबहादुर तुम्बाहाङ्फे सुनाउनुहुन्छ । चालु आवमा कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रमको अनुदानका लागि सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गरेर आवेदन आह्वान गरिएको थियो । यसमा जिल्लाभरिबाट डिभिजन वन कार्यालयमा २० वटा निवेदन आएको कार्यक्रम अधिकृत सुमन खड्काले बताउनुभयो । तीमध्ये सात लाभग्राही कृषक छनोट गरिएको हो ।

कार्यक्रम अधिकृत खड्काका अनुसार लाभग्राही कृषक छनोट प्रक्रियामा सवडिभिजन वन कार्यालयको र स्थानीय तहको सिफारिस, मालपोत कार्यालयको जग्गा रोक्का नभएको सिफारिस, नागरिकता वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, फर्मको हकमा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, ब्लु प्रिन्ट नक्सा तथा जग्गा खुल्ने प्रमाणित नक्सा माग्ने गरिन्छ । चालिस रोपनीभन्दा बढी जग्गा भएका किसानले मूल्याङ्कनमा दश अङ्क धेरै पाउछन् । त्यस्तै ३० रोपनीभन्दा माथि र ४० रोपनीसम्म भएमा त्यस्ता आवेदकले आठ अङ्क पाउछन् ।

यीसहित १० वटा मापदण्डका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने आवेदक अनुदानका लागि छनोट गरिन्छ । लाभग्राही कृषक छनोट समितिमा डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र र  सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घका प्रतिनिधि रहने व्यवस्था रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्निकुमार झा बताउनुहुन्छ ।

कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमबाट मात्र जिल्लामा हालसम्ममा ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा उत्तिस, अन्य गैरकाष्ठ तथा फलफूलका बिरुवा रोपिएको छ । यस वर्ष थप क्षेत्रफलमा पनि रोपिँदैछ । आव २०८०र८१ मा अनुदान प्राप्त गरेका म्याङलुङका डम्बरबहादुर लिम्बूले म्याङ्लुङ–४ पिप्लेमा उत्तिससँगै फलफूलमा कागती र लिची रोपेको बताउनुभयो । एम्बुलेन्स चलाउने पेसा अगाल्नुभएका उहाँले पाँच वर्षअघि साथीहरुसँग मिलेर खरिद गरेको जग्गामा अनुदानबाट प्राप्त रकमले ती बिरुवा रोपेको सुनाउनुभयो । लिम्बूसहित साथीहरुको समूहले टेके एग्रो फर्म दर्तागरी व्यावसायिक लिचीखेती गर्दै आएका छन् ।

किसानलाई प्रोत्साहन, भूक्षय रोक्न सहयोगी

जिल्लाको म्याङ्लुङ नपा–५ जिरिखिम्तीका रबिन्द्र सोदेम्बा र चन्द्रकुमार सोदेम्बाले गत वर्ष निजी वनबाट सात–सात लाख रुपैयाँको गोलिया बेच्नुभयो । रुख काटेर खालि रहेको ३५ रोपनी क्षेत्रफलमा कोसी प्रदेश सरकारको कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमको अनुदान सहयोगबाट गएको वर्षायाममा उत्तिस र अलैँचीको बिरुवा लगाउनुभएको हो ।

कृषकलाई यस्ता अनुदानका कार्यक्रमले बिरुवा लगाउन प्रोत्साहित गरेको उहाँहरुको भनाइ छ । खेति गर्ने जग्गामा पहिरो जान थालेपछि खेतबारीको छेउछाउमा उत्तिसलगायत बिरुवा रोप्दा त्यसले पहिरो रोक्न मद्दत पुगेको उहाँहरुले सुनाउनुभयो । यो कार्यक्रमबाट प्राप्त अनुदान रकमबाट कृषकले पहिरो जाने स्थानमा उत्तिसलगायत बिरुवा रोपण गरेपछि त्यसले भूक्षय हुनबाट रोकेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घ तेह्रथुमका अध्यक्ष बुद्धिमान खुलाल बताउनुहुन्छ । यद्यपि, कम कृषकले मात्र अनुदान पाएको भन्दै आगामी दिनमा प्रदेश सरकारले यसको दायरा केही बढाउन आवश्यक रहेको उहाँको सुझाव छ ।

उत्तिसः अलैँचीका लागि छहारीसँगै मल पनि

अलैँची बारीमा उत्तिसको बिरुवा रोप्दा अलैँचीलाई छहारीसँगै मल पनि हुने कृषकको भनाइ छ । कृषि वन प्रणाली प्रवर्द्धनकार्यक्रममार्फत अनुदान पाई अलैँची बारीमा उत्तिसका बिरुवा रोपेका फेदाप गाउँपालिका–६ का अगुवा कृषक केशरबहादुर घिसिङका अनुसार अलैँचीलाई रुख बिरुवाको छहारीले राम्रो गर्छ । उत्तिसको बिरुवा रोपी दिएपछि त्यो छहारी पनि हुने र त्यसका पातपतिङ्गर झरेर कुहिन गई अलैँचीलाई मल पनि हुन्छ ।

उत्तिसको बिरुवा अलैँचीका बोटका लागि निकै उपयोगी हुने अर्का लाभग्राही कृषक, मेन्छ्यायेम गापा–६ मोराहाङका ऋषिबहादुर थापाको अनुभव छ । उहाँले पनि अनुदान रकमबाट अलैँचीबारीमै उत्तिसका बिरुवा लगाउनुभएको छ । अलैँचीले चिस्यान ठाउँ बढी नै मन पराउँछ । उत्तिसका बिरुवाले जमिनलाई चिस्याइलो बनाइराख्न पनि मद्दत पुग्ने भएकाले अलैँची बगानमा उत्तिसको बिरुवा रोप्दा निकै उपयोगी हुने कृषि प्राविधिकहरु बताउँछन् ।

राजस्व सङ्कलनको मुख्य आधार

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी राजस्व रुखको गोलिया निर्यातबाट हुने गरेको छ । चालु आर्थिक वर्षको हालसम्ममा मात्र जिल्लामा गोलिया निर्यातबाट रु चार करोड बढी राजस्व सङ्कलन भएको छ ।

गत आव २०८०र८१ मा तेह्रथुमबाट ५३ करोड रुपैयाँको गोलिया काठ निर्यात भएको थियो । सो वापत सङ्घीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर सङ्कलन भएको थियो भने ७८ लाख ८५ हजार तीन सय रुपैयाँ प्रदेश सेवा शुल्कबापत राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार १ ८६ क्युफिट गोलिया काठ जिल्ला बाहिर निर्यात भएको थियो ।

जिल्लामा ३२ वटा निजी वन दर्ता भएका छन् । तीनको क्षेत्रफल २६ दशमलव १० हेक्टर छ । यस्तै कबुलियती वन समूह १२३ वटा छन् भने तिनीहरुको क्षेत्रफल ३४० दशमलव ६३ हेक्टर रहेको डिभिजन वन कार्यालय तेह्रथुमको तथ्याङ्क छ । त्यस्तै सामुदायिक वनको सङ्ख्या ३३९ र  क्षेत्रफल १९ हजार १२४ दशमलव ७६५ हेक्टर रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।