२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक



अ+ अ-

कास्की। पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले स्वर्ण पदक जितेकी हुन् ।

गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न प्रतियोगितामा रिकर्व पुरुषतर्फ तिलकले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ को सेटले पछि पारेका हुन् ।

महिलातर्फ आयशाले आर्मीकै मित्र राईलाई ६–४ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी छिन् । आर्मीकी मञ्जु बजगाईं र नेपाल पुलिसका पवन श्रेष्ठले कास्य पदक हात पारेका छन् ।

‘रिकर्व मेन्स टिम’तर्फ विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीको ‘ए’ टोलीलाई ६–२ ले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । गण्डकीले रजत पदक जित्दा गण्डकी ‘बी’ टोलीले कास्य पदक जितेको छ ।

‘रिकर्व मिक्स टिम इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्दा आर्मीले रजत र गण्डकीले कास्य पदक जितेको छ । ‘स्टान्डर्ड मिक्स टिम’मा आयोजक गण्डकीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीले आर्मीलाई ५–१ को सेटमा पराजित गरेको हो भने नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।

‘कम्पाउन्ड मेन्स इन्डिभिजुअल’मा एपिएफ क्लबका मीन गौचनले स्वर्ण पदक जितेका छन् । फाइनलमा गण्डकी ‘ए’ टोलीका सुमन गुरुङलाई पराजित गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् । सुमनले रजत पदक जित्दा आर्मीका पवन राईले कास्य पदक पाएका छन् ।

‘कम्पाउन्ड विमेन्स इन्डिभिजुअल’मा गण्डकीकी मोनिका राना मगरले स्वर्ण पदक, एपिएफकी प्रसादा आचार्यले रजत र एपिएफकी निर्मला काङवाङले कास्य पदक पाएका छन् ।

यसैगरी, ‘स्टान्डर्ड मेन्स टिम इभेन्ट’मा गण्डकी ‘ए’ ले ५–३ को सेटमा फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । गण्डकीले स्वर्ण, पुलिसले रजत तथा एपिएफ क्लबले कास्य पदक जितेको हो ।

प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, आर्चरी सङ्घका अध्यक्ष किशोरकुमार गुरुङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी, बागमती र गण्डकी प्रदेशका दुई टोली गरी कुल सात टोलीका महिला २२ र पुरुष ४८ खेलाडीले प्रतिस्पर्धा गरेका आयोजकले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको थियो ।  रासस