८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ज्येष्ठ शुक्ल दशमीः पाप कट्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै

ज्येष्ठ शुक्ल दशमीः पाप कट्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै
तस्वीर:चन्दन ठाकुर
अ अ+ अ-

काठमाडौँ । ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रूपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदै छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा गङ्गादशहरा मेला लाग्ने गर्दछ । दश दिन नभ्याउनेले भने आज विशेष रूपमा स्नान, पूजा एवं आराधना गरी यो पर्व मनाउने सनातनी परम्परा छ ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा आज बिहानदेखि स्नान गर्न भक्तजन भेला भएका छन् । दुई वर्ष अघिदेखि यहाँ व्यवस्थित रूपमा स्नान गर्ने व्यवस्था गरिएको छ । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल पक्षमा स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल पक्षका दश दिनमा गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पुर्‍याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता रहेको उहाँले बताउनुभयो ।

सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप दशहराका अवसरमा स्नान गरेर नाश हुने विश्वास रहेका गङ्गादशहरा भनिएको धर्मशास्त्रविद् प्राडा भट्टराईले जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि आज बिहानैदेखि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशअनुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन । पापमोचन स्वरूप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका दश दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने गरेको छ । यो योगमा स्नान गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

पौराणिक कालमा यही दश दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता रहेको गङ्गा दशहरा स्नान समितिका अध्यक्ष लिम्बुले उल्लेख गर्नुभयो । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाटमा पनि यो दश दिने अवधिमा विशेष मेला लाग्छ ।

यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्नान गरी भगवान्को दर्शन गरेमा दश प्रकारको पाप नाश हुने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा नेपाल र भारतका तीर्थस्थलमा आज स्नान मेला लाग्ने गरेको छ । रासस