५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’



अ+ अ-

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो ।

तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

तालिम लिएका अगुवा किसानले अब गाउँपालिकामा माटो प्राविधिकको रुपमा सेवा प्रदान गर्ने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा सीप लिएकालाई माटो परीक्षणका लागि आवश्यकयन्त्र, उपकरण गाउँपालिकाले प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

“किसान आफँै माटोसँग जानकार हुन सकुन् भन्नका लागि माटो परीक्षणसम्बन्धी सीप प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो, “माटोको परीक्षण गरेर खेती गर्दाको फाइदाको विषयमा पनि जानकारी दिएका छौँ । तालिम लिएका अगुवा किसानलाई आगामी आर्थिक वर्षमा आवश्यक सामग्री पनि प्रदान गर्छौँ ।”

गाउँपालिकाले कृषिमा योजनाबद्ध रुपमा काम गरिरहेकाले किसानलाई माटोसम्बन्धी प्रयोगात्मक रुपमा ज्ञान प्रदान गर्ने लक्ष्यले माटो परीक्षणको सीप प्रदान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

गाउँपालिकाले मुख्य रुपमा अकबरे खुर्सानी खेतीसँगै माटो र हावापानी सुहाउँदो नगदेबाली खेतीमा जोड दिएकोले किसान आफैँले आवश्यक ज्ञान, सीप लिन सक्ने वातावरण तयार गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । “हामीले यहाँ योजनाबद्ध कृषिको विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भन्नुभयो,“गाउँपालिकामा अकबरे खुर्सानीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै खुर्सानीबाट गतवर्ष मात्र रु १८ करोड बराबर भित्रिएको छ । अन्यबालीको पनि व्यावसायिक खेतीमा किसान लाग्न सहजता प्रदान गर्न माटो परीक्षणको कार्यक्रम सञ्चालन गरेका हौँ ।”

गाउँपालिकामा कृषि तथा पशुपक्षी सेवा केन्द्र भवन निर्माण भएकाले कृषिसम्बन्धी थप काम गर्न सहज भएको अध्यक्ष राईको भनाइ छ ।