
एजेन्सी । दक्षिणी भारतीय शहर बेंगलुरुको क्रिकेट रंगशाला बाहिर बुधवार भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को पहिलो इण्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जितेको खुशीयाली मनाउन हजारौं क्रिकेट प्रशंसकहरू शहरको एम चिन्नास्वामी रंगशाला बाहिर भागदौड मच्चिएको थियो ।
घाइतेहरूलाई बोरिङ र लेडी कर्जन अस्पताल र वैदेही अस्पतालमा भर्ना गरिएको छ । सात जनाको बोरिङ अस्पतालमा चोटका कारण मृत्यु भयो भने अन्य चार जनाले वैदेही अस्पतालमा मृत्यु भएको हो ।
मंगलबार राति अहमदाबादमा भएको आईपीएल फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै आरसीबीले १८ वर्षपछि पहिलो आईपीएल उपाधि जितेको थियो । जसले गर्दा आफ्ना क्रिकेट स्टारहरू हेर्न रंगशाला र वरपर भीड जम्मा भएको थियो । कर्नाटक राज्य क्रिकेट संघले आरसीबी खेलाडीहरूलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वैध टिकट र पास भएका व्यक्तिहरूको मात्र सहभागिता थियो । तर फ्यानहरू आफ्नो टोलीका क्रिकेटरहरु हेर्न कार्यक्रमस्थलमा भीड लागेका थिए ।
रिपोर्टहरूले बताएअनुसार स्टेडियमको गेट नम्बर ३, १० र २१ मा भागदौड मच्चिएको हो ।