२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि



अ+ अ-

सिरहा । लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा हुनुहुन्छ । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उहाँको मुख्य जिम्मेवारी हो ।

पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून थियो । पछिल्ला वर्षमा सो सङ्ख्यामा वृद्धि भएको उहाँको अनुभव छ । “पहिले गर्भवतीले स्वास्थ्य संस्थामा गर्भावस्था सम्बन्धमा चेकजाँच गराउने चलन थिएन । अस्पतालको सहज पहुँच पनि थिएन र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन”, उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकास र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन पछि उनीहरु नियमित परीक्षण गराउन थालेका हुन् ।”

पछिल्लो समय दतिल तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसरी स्वास्थ्य संस्थामै नियमित परीक्षण गर्ने गर्भवतीको सङ्ख्या वृद्धि हुनुको मुख्य कारण चाहिँ नगरपालिकाले तीन वर्ष अघिदेखि सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम हो । स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलाहरुलाई पोषण प्याकेज प्रदान गरिन्छ ।

लहान नगरपालिकाले नगरक्षेत्रभित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज लहान–२० का ४८ गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेश प्रसाद चौधरीले भन्नुभयो, “मापदण्डअनुसार गर्भजाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ । यस पोषण कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

नगरप्रमुख चौधरीले महिलामा पोषणको कमी नहुने र मापदण्डअनुसार नियमित परीक्षण कार्यक्रम प्रभावकारी हुने भएकाले यस कार्यक्रमलाई आफू नगरप्रमुख भएदेखि सञ्चालन गरेको बताउनुभयो । उहाँले आगामी दिनमा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा नं १६ को तरेगणा र वडा नं १९ को सोनवतीमा ‘बर्थिङ सेन्टर’ निर्माण गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

सोही क्रममा लहान–२० का वडाध्यक्ष गणेशप्रसाद चौधरीले नगरको यस पोषण प्याकेज अभियान अतिविपन्न तथा असहाय परिवारकालागि प्रभावकारी भएको बताउनुभयो । सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मोटर, सोयाविनलगायत खाद्यान्न सामग्री छन् ।