१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौँ । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औँल्याइएको छ ।

प्रदेश १ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन विभागले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बाग्मती, तिनाउ, पश्चिम राप्ती बबई र केही साना नदीमा बहाव बढ्ने क्रममा छ । तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, काठमाडौँ, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दीका नदीको बहाव बढ्ने क्रममा छ ।

त्यस्तै, चितवन, नवलपरासी, रुपन्देही, कपिलस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा र आसपासका जिल्लाका नदीमा बहाव बढ्ने खतरा रहेको छ ।

भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर नै मनसुन सक्रिय छ । सोमबार पश्चिम क्षेत्रबाट थप मनसुनी वायु भित्रिएको छ । त्यसैले केही दिन पूर्वको तुलनामा पश्चिमी भेगमा बढी वर्षा हुने सम्भावना देखिएको उहाँले बताउनुभयो ।

मनसुन थप सक्रिय बनाउने न्यूनचापीय रेखा पूर्व र पश्चिमबाट नै नजिक आउँदै गरेको छ । “मनसुनी रेखा माथि सर्दैछ, जसका कारण असार २५ गतेदेखि विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ,” अर्यालले भन्नुभयो । प्रदेश–५, गण्डकी प्रदेशसहित पश्चिमतिर बढी केन्द्रित देखिएको छ । प्रदेश–१, २ र बाग्मतीसहित अन्यत्र पनि केही भेगमा भारी वर्षा हुने देखिएको छ । स्थानीय वायुको पनि प्रभाव रहेकाले मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाइएको छ ।
मनसुनको विगत २० दिनको अवस्था हेर्दा गत वर्षभन्दा यसपालि बढी वर्षा भइरहेको छ । गएको वर्ष १० दिन ढिला गरी मनसुन भित्रिएको थियो । आइतबार कञ्चनपुर क्षेत्रमा सबैभन्दा धेरै १११ मिलिमिटर पानी परेको रेकर्ड थियो । विगत २४ घण्टामा देशका विभिन्न भेगमा रहेको ९९ वटा केन्द्रमा पानी परेको रेकर्ड छ । जसअनुसार सबैभन्दा बढी दैलेखमा ६४।४ मिलिमिटर पानी परेको छ । अन्य छवटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । त्यस्तै २३ वटा केन्द्रमा २५ मिलिमिटर बढी र ४० वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

११ पहिरोसहित २० घटना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत २४ घण्टामा २० वटा विपद्का घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै पहिरोका ११ घटना छन् । जसअनुसार डोटीको पूर्वीचौकी गाउँपालिकामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । योसहित अन्य स्थानमा भएका पहिरोमा परी पाँच जना घाइते भएका छन् । बैतडी, अछाम, सङ्खुवासभा, पश्चिम नवलपरासी, पाल्पा र जाजरकोटका विभिन्न स्थानमा पहिरो जाँदा घरपालुवा पशुसहित भौतिक क्षति भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।