काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । दुई दलबीच लामो समयदेखि भएको छलफल निष्कर्षमा पुगेसँगै एकता गर्न लागिएको हो ।
पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा दिउँसो साढे ११ बजेदेखि सुरु हुने छ । अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन् । २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।
गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । त्यतिबेलै दुई दलबीच पार्टी एकताको सहमति भएको थियो । तर यादव एकताका लागि पछि हटेको भन्दै श्रेष्ठ अघि बढेका हुन् ।
यसअघि हिजो ललितपुरस्थित एकान्तकुनामा बसेको नेसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको थियो ।
पार्टी एकता घोषणा कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले सम्बोधन गर्नेछन् ।










