सोमवार सिंहदरबार परिसरमा आयोजित एक समारोहबीच मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिनुभयो ।

मन्त्री यादवले अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरुमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गर्ने बताउनु भयो । खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हामीले भनेका थियौं मेलम्चीको पानी सिंहदरबारमा ल्याउने । त्यो पानी सबै मन्त्रालयमा पु¥याउने साथै सिंहदरबारभित्र जार र मिनरल वाटरका बोतलहरु चलिरहेको छ त्यसलाई बन्द गर्ने । त्यसैका लागि हामीले मेलम्चीको पानी सिंहदरबारमा शुरुवात गरेका छौं । हामीले प्रधानमन्त्री कार्यालय अगाडि नै खानयोग्य पानी चलाएका छौं । अब यो पानी सबै मन्त्रालयमा जान्छ । जुन जार र मिनरल वाटरका बोतल प्रयोग भइरहेका थिए अब त्यसको अन्त्य गर्छौं । साथै अन्य मन्त्रीहरुले पनि यसको नेतृत्व लिनुपर्छ । यसको सुरुवात भैसक्यो । अब यसको पाइपलाइन सबै मन्त्रालयमा जान्छ । आजबाट विधिवत रुपमा मेलम्चीको पानी आयो । यसभन्दा अघि भूमीगत पानी सिंहदरबारमा आएको थियो, मेलम्चीको पानी आएको थिएन ।’

उहाँले सुशासन, पारदर्शीता र जनताको सेवा गर्नेतर्फको प्रतिवद्धताको उदाहरण भएको बताउनु भयो ।