१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभामा पहिरोले ९ घर बगायो, ११ जना बेपत्ता



अ+ अ-

संखुवासभा । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो । मध्यरात ठूलो आवाजका साथ पहिरो खसेका बेला सबै निन्द्रामा रहेको ७९ वर्षीय गोवासिंह राईले बताए । पहिरोमा खसेर घरमै पुरिएको अवस्थामा उद्धार गरिएका राई गम्भीर घाइते छन् । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते गोवासिंहसँगै, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई जीवितै उद्धार गरिएको हो ।

पहिरोमा परेकालाई गाउँलेले उद्धार थाल्दा सुरक्षाकर्मीको टोली पुगिसकेको थिएन । घटनापछि ३ सय ४९ जना गाउँलेलाई उद्धार गरेर डेढ घण्टा टाढाको चित्रेमा स्थानीय विद्यालय र स्थानीयका ४/५ वटा घरमा राखिएको छ । एक साताको झरीले भिरालो जमिनमा पहिरो खसेको हो । घर बगाएर घाइते अवस्थामा उद्धार गरिएका ७९ वर्षीय गोवासिंहले ठूलो आवाजमा पहिरो एकैपल्ट झरेको बताए । उनी हात र टाउकोमा डुंगाले लाग्दा गम्भीर घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । आइतबार दिनभर पानी परिरहेकाले घाइतेको उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ । ७० वर्षीय जुद्धबहादुर राईकी श्रीमती ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति पहिरोमा बेपत्ता छन् । करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् । घटनाका बेला जुद्धबहादुर घरमा थिएनन् । घरभन्दा २ दिन टाढा बेवानामा रहेको भेडीगोठमा गएकाले जुद्धबहादुर जोगिए पनि घटना थाहा पाएपछि गहिरो चिन्तामा छन् । पहिरोमा परेर श्रीमती र छोरी बेपत्ता भएको खबर उनले घटनाको झन्डै १२ घण्टापछि आइतबार दिउँसोमात्रै पाए ।

संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार पहिरोमा परेर ६० वर्षीय राममान राई, उनकी ५५ वर्षीया पत्नी हस्तकुमारी, छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता राई हराइरहेका छन् । एन्जिला गर्भवती थिइन् । ५२ वर्षीय जुद्धबहादुर माने (राई) र श्रीमती ४५ वर्षीया उत्तरकुमारी, ७० वर्षीया नजमाया, ८४ वर्षीय हर्कराज र ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरो सिसुवा खोलामा पुगेको छ । उद्धारका लागि गएका मदन राईको मृत्यु भएको छ । दमका बिरामी रहेका उनको हृदयाघातले मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको छ । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी टोली पुगेको डीएसपी मल्लले बताए । उद्धारका लागि पुगेको सुरक्षाकर्मीको टोलीले विस्थापित परिवारलाई चित्रे डाँडामा सारेको हो । विस्थापितहरू त्रिपाल टाँगेर बसेका छन् ।

घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको ठाउँमा भएकाले सदरमुकामबाट उद्धारको टोली पुग्न समय लाग्ने मल्लले बताए । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपद् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलका लागि हिँडेको छ । खाँदबारीबाट १५/१५ जना सशस्त्र र नेपाल प्रहरीको डफ्फा र सेनाको ३० जनाको टोली घटनास्थलतर्फ गएको छ । तर धेरै ठाउँमा पहिरो गएकाले टोली साँझसम्म पनि घटनास्थलमा पुगिसकेको थिएन । तयारी अवस्थामा राखिएको हेलिकप्टर दिनभरि झरी परेको र हुस्सु लागेका कारण उद्धारका लागि जान नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । उनका अनुसार सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरीमा छ । घाइते ३ जनाको स्थिति सामान्य छ । घटनास्थल पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा १२ घण्टा पैदल हिँड्नुपर्छ । ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थल पुगिसकेका छन् । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेरै घटनास्थल गइरहेका छन् ।

वर्षा नथामिँदा खोजी, उद्धार र आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

यता सदरमुकाम खाँदबारीमा देवकोटा चोक–सातकुवा सडकमा दुई सय मिटरभन्दा माथिबाट पहिरो झरेकाले आवागमन अवरुद्ध भएको छ । पहिरोले केही घर जोखिममा परेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् । खाँदबारी–१ ढोलबाजेको सडकमाथिबाट पहिरो झरेकाले आवतजावतमा समस्या भएको छ । कान्तिपुर दैनिक