६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब हरेक वडामा वाईफाई



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महत्वपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने ।

टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ । त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ । यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ । इन्जिनियर नेपालका अनुसार चितवनको प्रयोगकर्ता हो भने ०५६ बाट फोन नम्बर सुरु हुनेछ । टेलिकमले गाउँगाउँसम्म विस्तार गरेको सीडीएमएको फिक्स्ड फोन विस्थापन गर्ने र वाइम्याक्स पनि प्रभावकारी हुन छाडेपछि यी दुवैलाई समाहित गरेर नयाँ योजना अगाडि सारेको हो । तत्काल संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराइने यो सुविधा व्यक्तिगत प्रयोगकर्तालाई टेलिकमले उपलब्ध नगराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । सर्वसाधारणमा व्यापक रूपमा गयौँ भने ब्यान्डविथ सबै यसमै प्रयोग हुन्छ, त्यसो हुँदा मोबाइल ब्रोडब्यान्ड महँगो हुन्छ, उनले भने– धेरै बाँडेर रिसोर्स सकियो भने फेरि रिसोर्स थप्नुपर्छ, जुन निकै सीमित छ ।

व्यक्तिगत प्रयोगकर्ताको हकमा मोबाइल ब्रोड ब्यान्डको पहुँच र गुणस्तरलाई पनि बढी जोड दिइने उनले स्पष्ट पारे । टेलिकमले संस्थागत प्रयोगकर्र्तालाई उपलब्ध गराउन लागेको वाईफाई सुविधाका लागि प्रयोग हुने डिभाइस तुलनात्मक रूपमा महँगो हुनेछ । यद्यपि सकेसम्म सस्तोमै सेवा उपलब्ध गराउने तयारी भइरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले उक्त डिभाइसमा टेलिफोन परीक्षणको काम भइरहेको छ । आठ सय ब्यान्डको फ्रिक्वेन्सी उपयोग हुने भएकाले टावरबाट लामो दूरीमा पनि यो सुविधा उपलब्ध गराउन सकिने उनले बताए । कम्पनीले आगामी आर्थिक वर्षभित्रै हरेक वडामा यो सुविधा पुर्याउने गरी योजना तयार गरेको जनाएको छ ।

‘१० एमबीपीएससम्मको स्पिड दिन्छौँ’

अमृत नेपाल, इन्जिनियर, नेपाल टेलिकम

हामीले गर्न खोजेको ल्यान्डलाइन फोन केन्द्रित वाईफाई सुविधा हो । उदाहरणका लागि वडा कार्यालय, शैक्षिक संस्था, सहकारीजस्ता गाउँगाउँमा छरिएर रहेका संस्थागत प्रयोगकर्तालाई फिक्स्ड फोनको पनि उत्तिकै महत्व छ । हाम्रो तयारीअनुसार यसमा त्यस्तो नम्बर पनि उपलब्ध गराउन सकिन्छ । पहिले हामीले सीडीएमएमा फिक्स्ड फोन भनेर मात्र दिन्थ्यौँ भने अब फोरजी÷एलटीई पनि भएकाले फिक्स्ड फोन र डेटा पनि दिन सक्छौँ । त्यसैले हामीले अहिले संस्थागत प्रयोगकर्तालाई बढी लक्षित गरेका हौँ । तयारी पनि त्यसैअनुसार भइरहेको छ ।

डेटालाई नै हामीले वाईफाई बनाएर प्रयोगकर्तालाई उपलब्ध गराउँछौँ । यसको स्पिड फोरजीको बराबरकै हुनेछ । हामीले अहिले उच्च गुणस्तरको डिभाइसमा बढी केन्द्रित गरिरहेका छौँ, जसले एक सय एमबीपीएससम्मको स्पिड दिनसक्छ । आठ सय ब्यान्ड मात्र छ भने ७०/८० एमबीपीएस जान सक्छ, १८ सय ब्यान्ड छ भने दुई सय एमबीपीएससम्म जान सक्छ तर हामी दुई सय एमबीपीएस नै दिने भन्ने हैन, त्यसो गर्दा मोबाइललाई असर गर्न सक्छ । त्यसैले हामीले ग्राहकलाई १० एमबीपीएस दिने गरी तयारी गरिरहेका छौँ । गोरखापत्र दैनिक