१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता महेश कोर्मोचाको निधन



अ+ अ-

ओखलढुङ्गा। नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मनुभएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बच्नुभएको थियो । उहाँले नेपाली राजनीतिको लामो समय योगदान गर्नुभयो । विसं २००७ मा भएको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको उहाँको राजनीतिक यात्रा पछि उहाँ ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बन्नुभयो ।

हजुरबुबा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुआत भएको बताउने महेश कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी थियो ।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतङ्कित भएसँगै प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान जानुभएको थियो ।  उहाँसहित १५ जनामध्ये १४ जना भर्ती हुनुभएको थियो । ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गर्नुभएको थियो । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय हुनुभयो ।

विसं २०२५ मा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गर्नुभयो । त्यसबेला सवारी चालक भएकोदेखि रक्सीको व्यापारसमेत गरेर सङ्गठन निर्माण गरेको इतिहास छ ।

विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि हुनुहुन्थ्यो । क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो । बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस कोर्मोचा बच्न सफल हुनुभएको थियो । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।

ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक हुनुहुन्थ्यो क्याप्टेन यज्ञबहादुर थापा । उहाँ नेपाली सेनाका पूर्वक्याप्टेन हुनुहुन्थ्यो । नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लाग्नुभएको थियो । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पु¥याइ हत्या गरिएको थियो ।

विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि महेश पनि पक्राउ पर्नुभएको थियो । राज्यविरुद्धको मुद्दामा उहाँ पटकपटक गरी आठ वर्षको जेल जीवन बिताउनुभएको थियो ।

विसं २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति हुनुभएको थियो ।

बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध हुनुभएको थियो । नयाँ शक्ति त्यागेर विजयकुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजकसमेत बन्नुभएका कोर्मोचा पुनःकांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहनुभएको थियो ।

उहाँको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।




भर्खरै