काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीका अवसरमा भगवान श्रीराम र अयोध्याका विषयमा व्यक्त विचार कुनै राजनीतिक पूर्वाग्रहबाट प्रेरित नभएको र कसैको भावना एवं संवेदनशीलतामा चोट पु–याउने उद्देश्य नरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ ।
मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा भगवान श्रीराम र उहाँसँग सम्बन्धित ठाउँहरुका बारेमा धेरै किंवदन्ती र प्रमाणहरु रहेको जनाउँदै प्रधानमन्त्रीले रामायण, श्रीराम र यस समृद्ध सभ्यताको व्यापक सांस्कृतिक पक्षको थप अध्ययन र अनुसन्धान आवश्यक रहेको कुरालाई जोड दिनुभएको बताइएको छ ।
प्रधानमन्त्रीले व्यक्त गर्नुभएका विचारहरुले अयोध्या र यसको सांस्कृतिक महत्वलाई अवमूल्यन गर्न नखोजेको परराष्ट्रले स्पष्ट गरेको छ ।
मन्त्रालयले विज्ञप्तिमा भनेको छ, हरेक वर्ष विवाहपञ्चमीका दिन भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म वैवाहिक डोली लिएर आउने प्रचलन छ । नेपाल र भारतका प्रधानमन्त्रीहरुले सन् २०१८ मा संयुक्त रुपमा रामायण सर्किटको उदघाटन गर्नुका साथै जनकपुर–अयोध्या सिधा बस सेवा शुरु गर्नु भएको थियो । यी तथ्यहरुले दुई देशबीच र दुई देशका जनताबीचको सांस्कृतिक सामिप्यतालाई झल्काउँछ ।
प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहमा भगवान श्रीरामको जन्म पर्साको ठोरी नजिक भएको विवादास्पद भनाई सार्वजनिक गर्नु भएको थियो । प्रधानमन्त्रीको उक्त भनाईप्रति सत्तारुढ नेकपाभित्रैबाट विरोध भएको छ ।
प्रधानमन्त्रीले राष्ट्रका मूल मुद्दालाई ध्यान दिन छाडेर घटनाहरुलाई विषयान्तर गर्न खोजेको नेकपाकै वरिष्ट नेताहरुले आरोप लगाउनु भएको छ ।