६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालपुर्जाविहीन ‘मासपुर गाउँ’



अ+ अ-

सिमकोट । सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ । सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने देखिएपछि स्थानीयवासीको हातमा हालसम्म लालपुर्जा नपरेको हो । सात हल जग्गा भएकी ताँजाकोट गाउँपालिका–३, मासपुर गाउँकी हीराकला बुढाले जग्गा उपभोग गर्दै आएको भए पनि दर्ता भए–नभएको थाहा नभएको बताए । पञ्चायत कालमा मुखियालाई तिरोस्वरूप मानोपाथी तिरेका स्थानीयले हाल भने तिरो पनि तिरेका छैनन् । विसं २०५४ सालअघि नै नापीको टोलीले जग्गा नापजाँच सम्पन्न गरे पनि लालपुर्जा हातमा नपरेको उनले बताए । जिल्ला आएर लालपुर्जा लिन टोलीले सुझाएको भए पनि चार दिन पैदल र एउटा चार हजार अग्लो मनेलेक काट्नुपर्ने भएपछि स्थानीयको जग्गाधनी पुर्जा लिने रहर पूरा हुन नसकेको हो ।

लालपुर्जा जिल्ला मालपोत गएर बनाउन सकिने जानकारी गाउँपालिकाबाट थाहा पाएका अर्का स्थानीय टेकबहादुर रोकायाले पुर्जा बनाउन आठदेखि दस दिन लाग्ने भएपछि गाउँका मानिस नगएको बताए । दस दिनको समयसँंगै खर्चको कुराले पुर्जा बनाउन समस्या परेको बताइएको छ । स्थानीय बूढापाका भने आफूले लालपुर्जाको मुखै देख्न नपाउने हो कि भनेर चिन्तित देखिएका छन् । गाउँपालिका केन्द्र छप्रेला पुग्न एक दिन लाग्ने मासपुरका बासिन्दाले जग्गा बेचबिखन नहुने भएपछि लालपुर्जाको जरुरी नै नपरेको बताएका छन् । मासपुर गाउँमा १९ घरधुरी छन् । जग्गा नापी भई मालपोतमा दर्ता भएर पनि आउजाउ समस्याका कारण गाउँवासीको हातमा लालपुर्जा नपरेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए । अहिले पनि मासपुरवासी लालपुर्जा बनाउन जाने मनस्थितिमा नदेखिएपछि अब गाडी सञ्चालनमा आएपछि गाउँपालिकाले व्यवस्था गर्ने उनले बताए।

हातमा लालपुर्जा नहुँदा प्रदेश सरकारले किसानलाई दिँदै आएको कृषि अनुदानबाट यहाँका किसान वञ्चित भएका छन् । सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपियाँ कृषिका लागि अनुदान दिए पनि यहाँका स्थानीयले जग्गाको लालपुर्जा नभएकै कारण उक्त सुविधा पाउनबाट वञ्चित भएका हुन् । २०५० साल ११ महिना १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म लालपुर्जा नलिएको मालपोत कार्यालयले जनाएको छ । ताँजाकोट गाउँपालिका अनुगमन गर्न जाँदा लालपुर्जा नपाएको थाहा पाएको निमित्त प्रमुख रवीन्द्र शाहीको भनाइ छ । गोरखापत्र दैनिक