१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै



अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् ।

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउछन् ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन् ।