३० बैशाख २०८२, मंगलवार
,
Latest
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर ‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’ अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र… नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’



अ+ अ-

अमरगढी, (डडेल्धुरा) । अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय यहाँ अवलोकन तथा पूजाआजा गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

बूढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित हुँदै गएको छ । यसलाई यहाँको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताउनुभयो ।

अहिले घटालथानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी अवलोकनका साथै यस क्षेत्रमा वनभोज खान आउने गरेका छन् । विभिन्न जिल्लाका विद्यार्थी तथा बाह्य जिल्लाका र विदेशबाट गरी दैनिक दुई सयको हाराहारीमा ‘घटालथान’मा पर्यटकहरू आउने गरेका उहाँले जानकारी दिनुभयो । विशेष गरेर मङ्गलबार र शनिबार घटालथानमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ ।

सदरमुकाम बागबजारबाट पश्चिम–दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा घटालथान रहेको छ । जिल्ला सदरमुकामबाट ‘घटालथान’ पुग्न गाडीबाट १५–२० मिनेट र पैदल एक घण्टा समय लाग्छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट–वीरखम्ब–टुँडा–चम्साल हो । “डोटी खोलाको बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुङ्गै नौला र ऐतिहासिक हिङ्लो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द लिन सक्छन्”, उहाँले भन्नुभयो ।

घटालको महिमा

देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरि बालुवा लिएर खाने गरेको जनविश्वास रहिआएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष बोहराले बताउनुभयो ।

“धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले सात–आठ मुठीजति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ”, उहाँले भन्नुभयो ।

मुखभरिको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्छन् । आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् । किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि घटालबाबा स्थापना गरिएको जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् । रासस