१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

पशुपतिनाथको प्राचीनता मासिने गुरुयोजना

पशुपतिनाथको प्राचीनता मासिने गुरुयोजना
अ अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरेको छ । कोषको कार्यकारी परिषद्बाट पारित गुरुयोजनामा पशुपतिनाथ मन्दिरको पश्चिमी ढोका भत्काउने, आर्यघाट हटाउने र ब्रह्मनाल सार्नेसम्मका योजना छन् । गुरुयोजनाले प्राचीनता मास्ने भन्दै संरक्षण अभियन्ता र स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् । परिषद्ले गत फागुनमा पारित गरेर गुरुयोजना मन्त्रिपरिषद्मा पठाएको थियो । दुई साताअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल हुँदा सम्पदाविज्ञहरूले गुरुयोजनामाथि आपत्ति जनाएका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीयसँग छलफल गर्न कोषलाई निर्देशन दिएको थियो । गुरुयोजना कस्तो बन्दै छ भन्ने जानकारीसमेत नदिएर छलफल आयोजना गरिएको भन्दै स्थानीयले बहिष्कार गरेका थिए ।

‘पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परासँग सम्बन्धित स्थानीय, संघसंस्था तथा सरोकारवालालाई फेरि एकचोटि गुरुयोजनाका नाममा पशुपति क्षेत्र विकास कोषले आक्रोशित र चिन्तित बनाएको छ,’ कोषलाई विरोधपत्र बुझाउँदै स्थानीय आशमान संगतले भने, ‘कोषले सैद्धान्तिक रूपमा पास गरी मन्त्रिपरिषद्मा पठाएको गुरुयोजनामा हामी सरोकारवाला कसैको पनि राय, सुझाव वा धारणा सम्बोधन गरिएको छैन ।’ पशुपतिनाथ र यससँग सम्बन्धित मौलिक परम्परा, धर्म, संस्कृति, चाडपर्व र सम्पदा सबैलाई बेवास्ता गर्दै अत्याधुनिक भौतिक सम्पदा निर्माण र यससँग सम्बन्धित व्यापारिक चलखेललाई मात्रै प्राथमिकता दिएर गुरुयोजना बनाइएको विरोधपत्रमा उल्लेख छ ।

कोषले सरोकारवालाको सुझावकै आधारमा अघि बढ्ने जनाएको छ । ‘सरोकारवालालाई राखेर सहमतिमा अघि बढ्छौं,’ कोषका कार्यकारी अधिकृत घनश्याम खतिवडाले भने, ‘विगतमा केही गल्ती भए होलान् । संरक्षणका लागि गर्नुपर्ने धेरै छन्, हामी सरोकारवालालाई पर राख्दैनौं ।’ भू–उपयोगितासहितको सयवर्षे गुरुयोजनामा पशुपतिनाथको प्रांगण विस्तार गर्नेदेखि आर्यघाट हटाउनेसम्मका योजना छन् । पशुपति क्षेत्रलाई क, ख, ग र घ गरी चार भागमा विभाजन गरिएको छ । ‘क’ मा केन्द्रीय क्षेत्र राखिएको छ । यसमा पशुपतिनाथ र गुह्येश्वरी मन्दिर परिसर, झम्केश्वरी क्षेत्रलाई समेटिएको छ । भक्तजनको चापलाई ध्यान दिएर केन्द्रीय क्षेत्रमा परिसर विस्तार गरिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । हाल मन्दिर प्रवेश गर्ने पश्चिमी ढोका (गेट) भत्काएर प्रांगण विस्तार गरिने उल्लेख छ ।

कोषले २०१६ मा बनेको पश्चिम ढोकालाई पुरातात्त्विक मान्यताविपरीत रहेको भन्दै भत्काउन लागेको हो । गुरुयोजनामा भनिएको छ, ‘प्रांगणवरिपरिका संरचना हेर्दा विगत ४/५ दशकयता पुरातात्त्विक मान्यताविपरीत थुप्रै कार्य भएका छन् । जेजस्ता उद्देश्यले गरिए पनि ती गल्ती हुन्, तिनको सुधार गरेर पशुपति परिसरको पुरातात्त्विक मूल्यमान्यताको संरक्षण गर्न आवश्यक छ । जात्रा पर्व विशेषमा हुने भक्तजनको घुइँचोलाई हेर्दा प्रांगण गुफाजस्तो लाग्छ । गुरुयोजनामा यी सबै विषयलाई सच्याउने गरी प्रांगण विस्तारको कार्यक्रम राखिएको छ ।’ तर यस योजनाको सम्पदा संरक्षण अभियन्ता र स्थानीय बासिन्दाले विरोध गरेका छन् । पशुपतिका भण्डारी केदारमान भण्डारीले भने, ‘आममान्छेमा पशुपतिको विम्ब भनेकै यही गेट र यहाँ भएको महादेव–पार्वतीको तस्बिर हो । मन्दिरभित्र फोटो खिच्न नपाउने भएकाले भक्तजन यही गेटको फोटो खिच्ने गर्छन् । यही गेट भत्काएर परिसर विस्तार गर्नु आपत्तिजनक छ । हामी यो हुनै दिँदैनौं ।’ केन्द्रीय क्षेत्रमै पर्ने आर्यघाट पनि हटाउने गुरुयोजनामा उल्लेख छ ।

आर्यघाटलाई हटाएर यसलाई आर्यतीर्थका रूपमा मात्रै राखिने गरी योजना बनाइएको गुरुयोजनाकार कोषका पूर्वसदस्य सचिव चेतनाथ गौतमले जानकारी दिए । ‘पहिला यो ठाउँ आर्यतीर्थ नै थियो,’ उनले भने, ‘आर्यघाट पछि बनाइएको हो, त्यसकारण पनि यसलाई आर्यतीर्थकै रूपमा राख्ने गरी योजना बनाएका छौं ।’ आर्यघाटमा दुइटा चिता छन् । तिनलाई हटाएर भस्मेश्वर घाट मात्र सञ्चालनमा ल्याउने योजना कोषको छ । आर्यघाटको छेउमै रहेको ब्रह्मनाल पनि सार्ने योजना छ । पशुपतिनाथको मन्दिरबाट निस्किने जललाई पाइपलाइनबाट भस्मेश्वर घाट र शवदाहगृहनजिकै लग्ने र त्यहीँ ब्रह्मनाल राख्ने गरी प्रस्ताव गरिएको छ । पशुपतिबाट निस्किएको जल आएर वाग्मतीमा मिसिएको ठाउँ ब्रह्मनाल हो । यहाँ शवलाई राखी मन्दिरबाट आउने जलले सेचन गराई अन्तिम संस्कारका लागि घाटमा लैजाने परम्परा छ । ‘घाटै उठाइदिएपछि र ब्रह्मनाल नै सारिदिएपछि अब पशुपतिनाथको प्राचीनता के बाकी रह्यो र ?’ भण्डारीले भने, ‘कोषले एक–एक गर्दै पशुपतिनाथको सनातन परम्परा र प्राचीनता सिध्याउन लागेको छ ।’

पशुपति क्षेत्रलाई धार्मिक, आध्यात्मिक केन्द्रका रूपमा विकास गरी अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउने, पशुपति क्षेत्रको मूर्त र अमूर्त सम्पदा, प्राकृतिक सम्पदाको संरक्षण गरेर यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाउने, यहाँको योजनाबद्ध विकासका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय दाता तथा सरोकार समूहसँग सहयोग र सहकार्यका लागि प्रोत्साहन गर्ने, पशुपति क्षेत्रमा दर्शन, पूजन तथा यज्ञ–यज्ञादि गर्न आउने भक्तजनका लागि आवश्यक पूर्वाधारको विकास गर्नेजस्ता गुरुयोजनाका लक्ष्य छन् ।

गुरुयोजना तीन चरणमा ५५ योजनामार्फत सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गुरुयोजनाअनुसार पहिलो चरणमा ०७७/७८ देखि ०८१/८२ सम्म, दोस्रो चरणमा ०८२/८३ देखि ०८६/८७ र तेस्रो चरणमा ०८७/८८ देखि ०९१/९२ सम्म काम गरिनेछ । पहिलो चरणमा पशुपति दर्शनपथको निर्माण, सूचना केन्द्र, स्नानगृह, शौचालय, पूजा सामग्री कक्ष, विश्राम स्थल, जुत्ताचप्पल सुरक्षा, स्वास्थ्य सेवा, सामुदायिक सेवा, पशुपतिनाथ प्रांगण विस्तार, गुह्येश्वरी प्रांगण विस्तार, विश्वरूप मन्दिर सत्तल पुनर्निर्माण, पशुपति अध्ययन केन्द्र निर्माण, गोठाटारस्थित सेवा क्षेत्र भू–उपयोग योजनालगायत २७ वटा योजना छन् । दोस्रो चरणमा यज्ञशाला, पशुपति साधना सदन, भण्डारेश्वर क्षेत्रमा किरियापुत्री भवन, बहुउद्देश्यीय जोसमनी मठ निर्माणलगायत २० वटा योजना छन् ।

पहिलो र दोस्रो चरणमा निर्माण सुरु भएका तर अधुरा रहेका योजना, हेमन्त भैरव, गौरीघाट, जयबागेश्वरीपूर्वको चोक तथा सिफलमा प्रवेशद्वार निर्माणलगायत ८ वटा योजनालाई तेस्रो चरणमा राखिएको छ । विश्वविद्यालयदेखि अस्पतालसम्म बनाइनेपशुपति क्षेत्रभन्दा ३ किलोमिटर पूर्वतिरको गोठाटारको करिब ५ सय रोपनी क्षेत्रलाई सेवा क्षेत्रको रूपमा विकास गरी शिक्षा, स्वास्थ्य, पुनःस्थापना, सामुदायिक सेवासँग सम्बन्धित पूर्वाधार बनाउने योजना बनाइएको छ । पशुपतिनाथ शैक्षिक प्रतिष्ठानअन्तर्गत पशुपति विश्वविद्यालय, वेदवेदांग महाविद्यालय, आयुर्विज्ञान प्रतिष्ठान, संगीत तथा नृत्य अध्ययन केन्द्र, तन्त्र अध्ययन केन्द्र, शिक्षक तथा विद्यार्थी आवास गृहलगायत बन्नेछन् । पशुपति च्यारिटेबल अस्पताल, योग तथा प्राकृतिक चिकित्साका कार्यक्रम स्वास्थ्य सेवाअन्तर्गत सञ्चालन गरिने गुरुयोजनामा छ ।

वैदिक सनातन धर्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय मठलगायतलाई नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्न लिजमा उपलब्ध गराउने लक्ष्यसमेत गुरुयोजनाले राखेको छ । ‘विश्वमा एक अर्ब हिन्दु छन् । तीमध्ये १ प्रतिशतलाई मात्र पशुपतिनाथ भ्रमण गराउन सकियो भने यसले धार्मिक पर्यटनमा ठूलो प्रभाव पार्छ,’ कोषका सदस्य सचिव प्रदीप ढकालले भने, ‘त्यहीअनुसारको भौतिक विकासको योजना अघि सारेका छौं । तर भौतिक विकास गर्दा यहाँको प्राचीनता, आध्यात्मिकतालाई भने ध्यान दिनेछौं ।’ पशुपति क्षेत्रमा विश्वभरका हिन्दु धर्मावलम्बी ल्याउने योजनासहित गुरुयोजना अघि बढाइए पनि मन्दिरको हालको अवस्थाबारे गुरुयोजनामा समेटिएको छैन ।

‘पशुपतिनाथको मन्दिरको अवस्था कस्तो छ र यसको संरक्षणका लागि कस्ता योजना ल्याउनुपर्छ भनेर गुरुयोजनामा कतै उल्लेख छैन,’ सम्पदा संरक्षण अभियन्ता अर्जुन पाण्डेले भने, ‘गुरुयोजनामा यस्ता अनेक त्रुटि छन्, जसले गर्दा कोषले ल्याएको यो गुरुयोजनाले पशुपतिनाथको संरक्षण गर्दैन । कसरी आम्दानी बढाउने र व्यापारिक केन्द्र बनाउने उद्देश्यले मात्र गुरुयोजना निर्माण भएको देखिन्छ ।’

कार्यान्वयन गर्न ३३ अर्ब लाग्नेगुरुयोजना कार्यान्वयनमा ल्याउन ३३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सरकारको अनुदान, पशुपति क्षेत्र विकास कोषको आन्तरिक स्रोत, राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायको सहयोग, पशुपति क्षेत्रसँग सम्बन्धित संघसंस्थाबाट सहयोग जुटाएर गुरुयोजनाले अघि सारेका कार्यक्रम सम्पन्न गरिने लक्ष्य लिइएको छ । पर्यटक प्रवेश शुल्क, गुठीको आय, बहाल आय, मन्दिर सेवा, चन्दाजस्ता आन्तरिक स्रोतबाट कोषले आम्दानी गरिरहेको छ भने सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पशुपति क्षेत्रमा बजेट विनियोजन गर्दै आएको छ । कान्तिपुर दैनिक