२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री आचार्यद्वारा बजेट जनमुखी बनाउन निर्देशन



फाइल फोटो
अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट जनतालाई सन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बजेट तर्जुमासम्बन्धी छलफलमा उहाँले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयनयोग्य योजना समेट्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ । जति बजेटको सिलिङ बनाइएको छ, त्यसैको आधारमा जनसन्देशसहितका कार्यक्रम समेटेर बजेट बनाउन जरूरी छ । कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।

उहाँले चालु आर्थिक वर्षमा झण्डै रु ३९ अर्बको बजेट ल्याइएको भए पनि आगामी वर्षमा रु ३२ अर्बभन्दा बढी बजेट बनाउने अवस्था नरहेको स्पष्ट पार्नुभयो । बजेट निर्माणका लागि प्राप्त सुझावलाई परिमार्जन गरी लैजाने र विगतका कमजोरी दोहोर्‍याइने पक्षमा नरहेको पनि मुख्यमन्त्री आचार्यले प्रष्ट पार्नुभयो । समानीकरण अनुदान प्राप्त नहुँदा दायित्व थपिएको अवस्था रहे पनि अब त्यसबाट मुक्त भइसकेको प्रदेश सरकारले अब ऋण बोक्ने, भार थो पर्ने काम नगर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणलाई यथार्थपरक, परिणाममुखी र जनउत्तरदायी बनाउनेगरी छलफल प्रक्रिया अघि बढाएको हो । बजेटले दायित्व व्यवस्थापन, स्रोतको उचित परिचालन, सेवा प्रवाह सुधार तथा समृद्धिको दिशा देखाउने अपेक्षा गरिएको छ ।

उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले कार्यान्वयन हुनेगरी बजेट निर्माण गरिनुपर्ने बताउनुभयो । प्रदेश सरकारलाई सवारीसाधन अनुमतिपत्र छपाइको जिम्मेवारीलाई बजेटमा समेट्नुपर्ने बताउँदै उहाँले उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र समृद्ध प्रदेश निर्माणसँग जोडिएका विषयहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मातृ मृत्यु दर, बाल मृत्यु दर, कुपोषणजस्ता समस्यालाई समाधान गर्नेगरी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार मात्र नभई सेवा प्रवाहलाई चुस्त बनाउनेगरी प्राथमिकीकरण गरिनुपर्ने उहाँको भनाइ थियो ।

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले बजेट तर्जुमा छलफल गर्दा आयोजनाको क्षेत्र हेरेर सीमा तोक्नुपर्ने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले दोस्रो आवधिक योजनाले निर्धारण गरेका प्राथमिकताका क्षेत्रलाई बजेटमा प्राथमिकता दिनसके धेरै समस्या समाधान हुने बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले सेवा प्रवाह चुस्त बनाउने, नागरिकको विश्वास जगाउने कार्यक्रमलाई बजेटमा समावेश गर्ने तयारी भइरहेको बताउनुभयो । प्रदेशमा रहेका समस्याका सूचकहरूका आधारमा गरिबी निवारण, शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा दोस्रो आवधिक योजनाको प्राथमिकतालाई बजेट तर्जुमाको मुख्य आधार बनाउनुपर्ने, प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गर्नुपर्ने, मर्मत–सम्भारको अभावमा सञ्चालनमा आउन नसकेका आयोजनालाई पुनः सञ्चालनमा ल्याउने गरी बजेट छुट्याउनुपर्ने, आयोजनाको सङ्ख्या घटाउने, प्राथमिकीकरण गर्ने, बहुवर्षीय दायित्व घटाउने गरी बजेट निर्माण गर्नुपर्नेलगायत विषय प्राथमिकताका साथ उठाइएको छ । रासस