३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी खेतीबाट आत्मनिर्भर मीना



अ+ अ-

गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिनुहुन्छ । उहाँले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ ।

मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक रु एक लाख बढी आम्दानी लिने गरेको कोइराला बताउनुहुन्छ । “११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ । अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु”, उहाँले भन्नुभयो । तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उहाँ बताउनुहुन्छ ।

मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा हुनुहुन्छ । “कान्छी छोरी काठमाडौँ डेन्टल पढ्छे । छोरो यो वर्ष कक्षा ९ मा पुग्यो”, उहाँले भन्नुभयो, “मेरो कमाइले छोरा छोरी पढाउन, घरखर्च चलाउन पुग्छ । जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन ।”

यतिखेर उहाँको बारीमा अहिले ढकमक्क बन्दागोभी छ । काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ । “बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरुको ‘सिजन’ सुरु हुन्छ । त्यसपछि प्याजको बीउ तयार गर्छु”, उहाँ भन्नुहुन्छ, “विषादी प्रयोग गर्दिनँ ।”

उहाँका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन । जब उहाँले तरकारी खेती गरेर आम्दानी लिन थाल्नुभयो, त्यसपछि अरुले उहाँकै सिको गरे । उहाँ महिलाहरुले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने बताउनुहुन्छ ।

उहाँले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिनुभएको छैन । उहाँ भन्नुहुन्छ, “म आफूले जे जति सक्छु गर्छु । अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन ।” उहाँको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो ।

व्यापारीहरु तरकारी लिन मीनाको बारीमै पुग्छन् । पहिलेजस्तो बजारको समस्या नभएको उहाँको अनुभव छ । गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताउनुभयो ।