काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सत्तारुढ दलभित्रैबाट आलोचना बढेपछि मन्त्रिपरिषद्का सदस्यहरु फेरबदलको गृहकार्य सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले नै धेरै मन्त्रीको कामप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ । यो अवस्थामा सरकारले गति लिन नसक्ने भएपछि मन्त्रीहरु परिवर्तनको गृहकार्य सुरु भएको छ । मन्त्री फेरबदल गर्ने विषयमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सामान्य छलफलसमेत भइसकेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अहिले मन्त्रीपरिषद्मा ३ राज्यमन्त्री र २२ जना मन्त्री छन् । ओली सरकारमा रहेका २२ मन्त्रीमध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना छन् ।
यसअघि पनि मन्त्रिपरिषद् फेरबदलको चर्चा भएको थियो । तर कांग्रेस सभापति देउवाले छोटो समयमै मन्त्री फेर्दा सकारात्मक सन्देश नजाने भन्दै मान्नुभएको थिएन । तर अहिले सरकार गठन भएको ९ महिना पुगिसकेकाले अब मन्त्री फेरबदल गर्दा पनि उचित हुने बुझाई कांग्रेस र एमालेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । उहाँले गठबन्धनकै कारण सरकार ढल्ने दाबी गर्नुभएको छ । कांग्रेस र एमालेभित्र मन्त्री बन्न नपाएका नेताहरुले पनि सरकारलाई असहयोग गर्न लागेको बुझाइ शीर्ष नेताहरुको छ । अब मन्त्रिपरिषद् परिवर्तन गरेर केही युवा नेतालाई जिम्मेवारी दिने तयारी छ । युवालाई मन्त्री बनाए सरकारको कामले पनि गति लिने अपेक्षा प्रधानमन्त्री ओलीको छ ।
पछिल्ला दिनका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल र भेटवार्ता बाक्लिएको छ । नेताहरूका अनुसार दुई शीर्ष नेताले केही मन्त्रीहरू फिर्ता बोलाउने तयारीसमेत गरेका छन् । केही दिन अगाडि बसेको एमाले सचिवालय बैठक र बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि मन्त्री हेरफेरबारे कुराकानी भएको थियो ।
अहिले सरकारमा रहेका कतिपय मन्त्री त गुमनाम जस्तै छन् । जनताले सम्झनलायक कुनै काम गर्न सकेका छैनन् । यस्ता नेतालाई मन्त्री बनाएर समय मात्र कटाउन दिने हो भने सरकार झन् असफल हुनसक्ने बुझाई दुवै दलका शीर्ष नेताहरुको छ । यसले पनि अब केही मन्त्रीलाई हटाएर युवालाई जिम्मेवारी दिँदै सकारात्मक सन्देश प्रवाह गर्ने सोच प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको छ ।










