–निरा गौतम
रुपन्देही । आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागुपदार्थ ओसारपसार र मानव अङ्ग बेचबिखनजस्ता कामका लागि मानव बेचविखन हुने गरेको छ । नेपालमा सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानून ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बेचबिखन नियन्त्रण हुनसकेको छैन ।
यतिबेला कोभिड–१९ को प्रभावका कारण सबै क्षेत्र प्रभावित भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारी कम गर्न सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि उद्योग, व्यापार व्यवसाय सबै ठप्प भए । अहिले बन्दाबन्दी खुलेपनि अझै जनजीवन सहज हुनसकेको छैन । यही परिस्थितिको फाइदा उठाउँदै मानव बेचबिखनमा संंलग्नहरु फेरि सक्रिय हुन थालेको मानवअधिकारकर्मी बताउँछन् ।
मानव बेचबिखनका क्षेत्रमा कार्यरत संस्थाका अनुसार यो समयमा महिलासँगै बालबालिका पनि उत्तिकै जोखिममा छन् । गाउँ, टोलमा क्रियाशील दलालले निमुखा, अशिक्षित युवायुवतीलाई गरिबी, बेरोजगारी र दयनीय स्थितिको लाभ उठाउँदै विदेशमा राम्रो काम र दाम पाइने र जीवन सुखी हुने सपना देखाउने भएकाले सचेत हुनु आवश्यक छ । बन्दाबन्दीकै समयमा पनि भारतका विभिन्न स्थानबाट सात महिलाको उद्वार गरिएको माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले बताए।
गएको असार महिनामा चार महिलाको उद्वार गरिको थियो । बन्दाबन्दीमा रुपन्देहीका दुई, पाल्पा, काठमाडौँ, बाँके, मकवानपुरलगायतका जिल्लाका सात महिलाको सीमा क्षेत्र तथा भारतका विभिन्न स्थानबाट प्रहरीको सहयोगमा उद्वार गरी नेपाल ल्याइएको उनले बताए एक ठाउँबाट अर्को स्थानसम्म जान नसकिने बन्दका वाबजुद मानव बेचविखनका घटना हुनु डरलाग्दो भएको माइती नेपालका प्रमुख क्षेत्री बताउछन् । “अब मानव बेचबिखनको झन् जोखिम छ, लामो समयको बन्दले आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै दलालहरु झन् सक्रिय हुँदैछन्”, उनले भने, “अबको समयमा मानव बेचबिखनविरुद्ध झनै सचेतना आवश्यक छ ।” खुला सिमानाका कारण नेपालका महिला सजिलै भारत पुग्ने भएकाले अझै कडाइ गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
माइती नेपाल भैरहवाका अनुसार आव २०७६÷७७ मा सीमाबाट १४३ महिलाको उद्वार गरिएको छ भने नौ जनाको भारतका विभिन्न स्थानबाट उद्वार गरी नेपाल ल्याइएको थियो । यो वर्ष मानव बेचबिखनसम्बन्धी तीनवटा मुद्दा दर्ता भए । यस्तै गत आव २०७५÷७६ मा सीमा क्षेत्रबाट दुई सय ५३ र भारतका विभिन्न स्थानबाट ५० जनाको उद्वार गरी आफन्तको जिम्मा लगाइएको छ भने मानव बेचबिखनसम्बन्धी दुई मुद्दा दर्ता भएका थिए । आव २०७४÷७५ मा सीमा क्षेत्रबाट २७२ महिलाको उद्वार गरिएको थियो भने १० जनालाई भारतका विभिन्न स्थानबाट उद्वार गरी आफन्तको जिम्मा लगाइको थियो । यो आवमा मानव बेचबिखनका १५ मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।
प्रदेश नं ५ को त्रिवर्षीय तथ्याङ्कलाई हेर्ने हो भने यो वर्ष मानव बेचविखन तथा ओसारपसारका घटनामा केही कमी आएको देखिएको छ । कोभिड–१९ को प्रभावका कारण नेपालमा गरिएको बन्दाबन्दीका कारण घटनामा कमी आएको प्रहरीको भनाइ छ । आव २०७६÷७७ मा मानव बेचविखन तथा ओसारपसारका ३० मुद्दा दर्ता भएको प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । उनका अनुसार गत आव २०७५÷७६ मा ४९ मुद्दा दर्ता भएका थिए । यस्तै आव २०७४÷७५ मा पनि ४९ मुद्धा दर्ता भएका थिए ।
नेपालको संविधानले मानव बेचबिखन गर्न नपाइने संवैधानिक सुनिश्चितता गर्दै धारा २९ को उपधारा ३ र ४ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाधा बनाउन नपाइने, कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन नपाइने व्यवस्था गरेको छ । त्यसविपरीतका कार्य गरेमा कानुनबमोजिम दण्डनीय हुने संवैधानिक ग्यारेन्टी गरिएको छ । त्यस्तै मानव बेचबिखन र ओसारपसार ९नियन्त्रण० ऐन २०६४ ले कुनै पनि प्रयोजनका लागि कुनै व्यक्तिलाई बिक्री वा खरिद गर्ने, कसैलाई आर्थिक लाभसहित वा लाभविना जबर्जस्ती वेश्यावृत्तिमा लगाउने, वेश्यावृत्तिमा संलग्न हुनेजस्ता गतिविधिलाई मानव बेचबिखन मानेको छ । त्यस्तै कानूनले निर्धारण गरेको अवस्थामा बाहेक मानव अङ्ग निकाल्ने कार्य गरेमा पनि मानव बेचबिखन गरेको ठहरिने व्यवस्था छ ।











