काठमाडौं । सांसदहरुले सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलका क्रममा सार्वजनिक निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका हुन् । सकेसम्म स्थायीलाई नराख्ने र आफु अनुकुलका व्यक्तिलाई करारमा नियुक्त गरी भ्रष्टाचारजन्य कार्य हुनेगरेको सांसदहरुले बताएका छन् । सांसद लालबाबु पण्डितले चोरबाटोबाट करारमा कर्मचारी नियुक्त गरी अपराधिक कार्यहरु भइरहेको बताउनुभयो । करार र ज्यालादारी कर्मचारी राख्नुपर्ने भए आयोगले तयार गरेर सार्वजनिक गर्नुपर्ने र त्यसभित्र बाटै लिन सक्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले चोरबाटोबाट करारमा कर्मचारी नियुक्त गर्दा अपराधपूर्ण काम गर्न सहज हुन्छ भन्ने देखिएकाले आयोगको ध्यानआकर्षण गराउनुभयो ।
सांसद दिलेन्द्र प्रसाद बडूले लोकसेवा आयोगको परामर्श र सहमति बिना सरकारबाट विभिन्न पदको अवधि तलमाथि गर्ने काम भइरहेको भन्दै आयोगले हस्तक्षेप गर्नसक्नुपर्ने बताउनुभयो । उहाँले आरक्षण समयपछि पदपूर्ति नभए के गर्ने र कति समय पछि अर्कोलाई दिने भन्ने कुरा प्रतिवेदनमा नदेखिएको बताउनुभयो । त्यस्तै कुनैपनि व्यक्तिले परिक्षामा प्राप्त गरेको अंक हेर्न पाउने व्यवस्था राम्रो लागेको बताउनुभयो ।
सांसद अमरेश कुमार सिंहले दलित, मधेसी र महिला कोटा लगायत आरक्षण कोटामा आवेदन नआए अर्कोलाई दिने व्यवस्था उपयुक्त नभएको बताउनुभयो । आयोगले फट्याई गरी आरक्षणमा छुट्याएको कोटा अर्कोलाई दने गरेको बताउनुभयो । यस्तो गरेको भए सम्बन्धित व्यक्तिलाई कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले आवेदन आएन भने सरकारले आरक्षण दिएको समुदायलाई प्रतिस्पर्धी र योग्य बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद प्रेम सुवालले निजामति सेवामा अहिले सम्म आरक्षण क्षेत्रबाट कति प्रतिशत सहभागीता छ भन्ने तथ्याङ्क प्रतिवेदनमा नआएको बताउनुभयो ।
लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सार्वजनिक संस्थानहरु भर्तिकेन्द्र भएका छन भने लोकसेवा आयोगलाई जिम्मा दिने व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले अझैपनि एकदर्जन संगठित संस्था लोकसेवा आयोगको मातहत नआएको बताउनुभयो । कतिपय संस्थामा कर्मचारी नियुक्तिका लागि अन्तरवार्ता लिदा ट्रेड युनियनका प्रतिनिधि राख्ने व्यवस्था रहेकाले त्यसलाई नहटाएसम्म लोकसेवा आयोग नजाने स्पस्ट पार्नुभयो । उहाँले स्थानीय तह, संगठित संस्था, सरकारी निकाय सबैमा अझैपनि आफ्ना मान्छे छिराउन करारमा नियुक्ति गर्ने गरिएको स्वीकार गर्नुभयो । उहाँले चिकित्सा सेवा आयोगमा योग्यता नपुगेका मान्छेलाई आयोगले सिफरिस नगरेको समेत स्पस्ट पार्नुभयो । आयोगमा अहिलेसम्म राजनीतिलाई प्रवेश गर्न नदिएको दावी समेत अध्यक्ष मैनालीले गर्नुभयो । उहाँले संविधान अनुसार राजनीतिक नियुक्ती भएपनि अहिले सम्म आयोगमा राजनीतिक छनक आउन नदिएको बताउनुभयो । त्यस्तै कर्मचारीको बढुवा मूल्याङ्कनको आधारमा गर्नु सबैभन्दा बैज्ञानिक हुने बताउनुभयो । उहाँले वरिष्ठता र मूल्याङ्कनको आधारमा बढुवा गर्ने भनिएपनि मूल्याङ्कन नै वस्तुगत हुन नसक्दा फेरीपनि वरिष्ठताका आधारमा मात्रै बढुवा हुने गरेको बताउनुभयो ।
आयोगको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा आयोगले प्रकाशित गरेका कुल विज्ञापनमा १ लाख ४३ हजार ८ सय ४० जनाले दरखास्त दिएका थिए । हाल सम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७३/७४ मा ८ लाख ४४ हजार २ सय ९७ जनाले आवेदन दएका थिए । आर्थिक वर्ष २०७४/०७५ मा आवेदन दिनेको संख्या ५ लाख ६७ हजार ८ सय ५३ रहेको प्रतिवेदनमा उल्लेख छ ।











