१६ असार २०८३, मंगलवार
,
Latest
मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको कारवाई, पौडेलको उचाई र देउवाको बल मिचाई



अ+ अ-

काठमाडौँ । यसै हप्ता नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाटै निष्कासनको कारबाई गरेपछि सभापति देउवालाई लागेको थियो अब आफूले जे गरेपनि रामचन्द्र पौडेल चुप लाग्नेछन् । किनभने गएको साढे दुई वर्षयता पार्टी सभापति देउवा सामु रामचन्द्र पौडेलको सबैभन्दा ठूलो माग गोविन्दराज जोशीमाथिको कारबाईको थियो । पौडेलको निष्कर्ष थियो आफूलाई पछिल्लो संसदीय निर्वाचनमा तनहूँबाट हराएको जोशीले नै हो । हुन पनि त्यही हो । किनभने जोशीले दिएको उम्मेदवारी र पौडेलले पाएका भोट जोड्दा जितेका कम्युनिष्ट उम्मेदवार भन्दा बढी नै हुन्थ्यो । त्यसयता देखि नै पौडेल जोशीको कारबाहीको लागि संघर्ष गरेका थिए । 

हुनत पौडेल र जोशी तनहूँका पार्टीभित्रका पुरानै र स्थायी प्रतिपक्षी या प्रतिद्धन्द्धी हुन् । तर पनि यसअघिका निर्वाचनहरुमा पार्टी सभापति गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालले जोशीको उचित व्यवस्थापन गर्ने भएकोले पौडेलको उम्मेदवारीमा घुन पुत्लो लाग्न पाउँदैनथ्यो । तर पछि जब भ्रष्टाचारको मुद्दामा जोशी मुछिए तब अख्तियार र अदालतले भन्दाबढी जोशीलाई पौडेलले भ्रष्टाचारी भन्न थाले । निर्वाचनको टिकट बाँड्ने बेला होस् या पार्टीले लाभ दिने बेलामा कताबाट जोशीको नाम छिर्छ भनेर पौडेल नै जास्सिन्थे । हालका सभापति देउवाले भने उनीहरु दुवैमा खेल्न थाले र एकअर्काको झगडामा पार्टीलाई घाटा लाग्छ कि भन्ने इरादा खासै राखेनन् । जसको परिणाम पौडेल हारे, जोशीले पनि चित्त बुझाए । पार्टीले त हारजित जेसुकै गरोस् भन्नेमा स्वयं पार्टी सभापति नै थिए । 

तर २०४८ सालदेखि निरन्तर एउटै निर्वाचन क्षेत्रमा चुनाव उठ्दै आएका रामचन्द्र पौडेलेका रिस भने मरेन । पार्टीको महाधिवेशनमा दुइ प्रत्यासीका रुपमा पानी बाराबार गरेका देउवा र पौडेलबीचको सम्बन्ध पछिल्लो संसदीय निर्वाचनको एकाध महिनापछि भने बाक्लियो । सर्त थियो जोशीमाथि कडाभन्दा कडा कारबाई । पौडेल यही माग लिएर बुढानीलकण्ठ पुगे । उनको माग थियो जसरी हुन्छ जोशीमाथि कारबाई गर्नुपर्छ । उनको लामो समयको पर्खाइपछि यसपालि सभापति देउवाले माग पूरा गरिदिए । यसै हप्ता उनको माग पूरा भएपछि भने देउवाले अब आफूले जेजस्तो काम पार्टीभित्र गरेपनि पौडेलले विरोध गर्दैनन् भन्ने लागेको थियो । निकै लामो समयको कचकचपछि देउवाले पौडेलको माग त पूरा गरिदिए त्यही मेसोमा उनले आरजु देउवालाई निर्वाचनमा जिताउन नसकेका पुष्करनाथ ओझालाई पनि कारबाइको भागीदार बनाए । यी दुवै कामले न पौडेलको न आरजुको उचाइ बढयो भन्ने विश्लेषण सर्वत्र गरिएको छ । काँग्रेसजनहरु भन्छन्– रामचन्द्रले कारबाई त गराए तर जोशीमाथि कारबाई गरेर पौडेलको उचाई बढेको छैन, बरु घटेको छ । पुराना काँग्रेसीजनहरुको भनाई छ– एक त तत्कालीन राजाले छानीछानी कारबाई गरेर जोशीलाई अन्याय गरेका थिए त्यसैमा निरीह जोशीमाथिको कारबाई गरेर पौडेलको उचाई बढेको छैन । उनीजस्तो उचाई भएका व्यक्तिले आफ्नो निर्वाचन क्षेत्रका एक वरिष्ठ नेतालाई कारबाई गराएर त्यसले न उनलाई र नत पार्टीलाई नै फाइदा पुग्नेछ । 

उता यही कारबाईको मेसोले सभापति देउवालाई भने बल मिच्न सघाएको छ । देउवाले बुधबार राति पार्टीका वरिष्ठ सदस्यहरुलाई राखेर ४७९ सदस्यीय एक वरिष्ठ राजनीतिज्ञ सभा गठन गरे । त्यस सभामा पार्टीका अनुभवी र पाका सदस्यहरुलाइ राखेका छन् । त्यस काममा उनले पौडेल पक्षका कसैलाई पनि सोधेका थिएनन् । अकस्मात त्यति लामो सभाको समाचार मिडियाबाट सुनेपछि फेरि पौडेलको मन थामिएन । किनभने काँग्रेसमा उनको मन बुझ्न गाह्रै छ । त्यो समाचार सुनेपछि उनले शशांक काेइराला र प्रकाशमान सिंहलाई फोन गरे र सोधे उनीहरुसँग सभापतिले नाम मागेका थिए कि थिएनन् भनेर । उनीहरुबाट पनि खासै नसोधिएको जवाफ आएपछि हिजो बिहान ११ बजे शशांकको घरमा बस्ने निधो भयो । त्यहीँ जम्मा भएका नेताहरुले देउवालाई दिने लिखित विरोधपत्र नै तयार पारे । हिजो अपरान्ह पार्टी कार्यालयमै सभापति देउवालाई बोलाए र विरोध पत्र थमाए । यो देख्दा लाग्थ्यो कि यसरी लिखित नै विरोध पत्र दिने काम कुनै एउटै पार्टीभित्रले एकले अर्काेलाई गरिरहेका छैनन् । 

देउवाको जवाफ पनि कडा थियो– मैले पार्टीको विधान अनुसार यो काम गरेको हो, केही फरक पर्दैन । त्यो सुनेपछि पार्टी कार्यालयमा आयोजना गरिएको विरोध कार्यक्रममा केहीले सभापति देउवालाई प्रधानमन्त्री केपी ओलीसँग तुलना गरेका थिए । ती नेता भन्दै थिए – जसरी ओलीले अरु कुनै पनि नेतालाई केही पनि टेरेका छैनन् त्यसकै सिको हाम्रा सभापति गर्नेवाला छन् । यस्तै कुराकानीमा अर्का नेताले भने– हप्तैपिच्छे बालुवाटार पुगेका हुन्छन् केरे दिक्षा लिए होलान् नि ?

पार्टीको महाधिवेसनको तीन वर्ष पूरा भयो तर अहिलेसम्म विधान अनुसारका कुनै विभाग गठन नगरेका देउवा अहिले रातारात तातेका छन् । पार्टीको महाधिवेशन सम्पन्न भएको छ महिना भित्र गठन गर्नुपर्ने विधान अर्काे महाधिवेशन आउन छ महिना बाँकी छँदा बल्ल देउवाले काम थालेका छन् । देउवाको दाउ महाधिवेशन अघि धेरै नेता कार्यकर्तालाई धेरै विभागमा पुराउने र तिनकै अढेस लागेर अर्काे पटक सभापति हात पार्ने भन्ने छ । तर उनको यही दाउले डराएका छन् पौडेल र कोइरालापक्षधरहरु । उनीहरु आगामी महाधिवेशन निश्पक्ष हुनेमा पनि शंका गरेका छन् । पार्टीभित्रै निर्वाचनमा धाँधली हुने आशंकाका साथ पनि देउवाले पार्टी महाधिवेशनको पूर्वाद्धमा थालेको कामको गियर घटाउने होइन बढाउने मुडमा देखिन्छन् । यो उनको बल मिचाइको घानमा आखिर पौडेलमात्र पर्ने देखिएको छ । किनभने कोइरालाहरुले अबको मेसो आफैले सभापति उठ्नेमा सोझाएका छन्, पौडेलको पालो अघिल्लै पालि पुगेको देखिएको छ । 

देशका सबै राजनीतिक दलहरुमा यतिखेर आन्तरिक शक्ति संघर्षको मौसम कायमै देखिन्छ । नेकपामा दुई अध्यक्षको दाउपेचले देशलाई नै बन्दी बनाएको त हामीले साँझ बिहान भरपूर मात्रामा देखेकै छौँ । हामी जनता भ्रममा छौँ भने कार्यकर्ताहरु विलखबन्दमा । सत्तारुढ नेकपाका ती दुई अध्यक्षबीचका भारत र पाकिस्तानका प्रधानमन्त्रीजस्तो एक्लाएक्लै र एक÷एकजना नेतासहितका शृंखलाबद्ध बैठकहरुले सारा देशबासीलाई बडो झर्काे लाग्ने अवस्था आएको छ । त्यसैमा थपिएको छ अब काँग्रेसको कलह । उता ओलीको जस्तै यता देउवाको दाउपेचमा के कति काँग्रेसीजनहरु शिकार हुनेहुन् भन्ने पनि अबका केही दिनको चासोको विषय हो ।