
काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्ने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन ओली र मोदी थाइल्यान्डमा छन् ।
यही क्रममा आज दुई नेताबीच साइडलाइन भेटवार्ता तय भएको हो । आज अपराह्न ४ बजे भेट हुने छ । नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्यान्ड भ्रमण कार्यतालिकामा आज अपराह्न ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले हिजो श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ ।
त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच छुट्टै भेट हुने/नहुने विषय बहुप्रतीक्षित छ । प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ताको अवसर पाएका थिए ।