
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह हत्तपत्त सार्वजनिक कार्यक्रममा देखिँदैनन् । नगरप्रमुखमा निर्वाचित भएपछि उनी मूलधारका सञ्चारमाध्यमसँग छ टाढा छन् नै आफ्नै कार्यालयका कर्मचारीहरुसँग पनि खुलेर कुरा गर्दैनन् । त्यति मात्र होइन, कार्यालयको कामबारे आफ्नै उपप्रमुख सुनिता डंगोललाई पनि जानकारी दिन चाहँदैनन् ।
बालेन महानगरप्रमुखमा निर्वाचित भएपछि संघीय सरकारसँग काठमाडौं महानगरपालिकाको दुरी कहिल्यै नजिक भएन । कहिले फोहोरमैला व्यवस्थापनको काममा त कहिले सडकपेटी विस्तार होस् या फुटपाट व्यवस्थापनका विषयमा संघीय सरकारसँग बालेनको कहिल्यै एकमत भएन । आफ्नै शैलीमा काम गर्ने र त्यो पनि गुप्त कोठामा बनाइएको रणनीति अनुसार उनी अघि बढिरहे । समग्रमा फुटपाट व्यवस्थापन र फोहोरमैला व्यवस्थापनमा उनी सफल पनि हुँदै आएका छन् । शहरको सौन्दर्यीकरणमा पनि उनले गरेका कामको प्रशंसा भइरहेको छ । तर कसरी उनले योजना बनाउँछन् भन्ने कुरा गुप्त नै राखेका छन् ।
संघीय सरकारलाई हरेक विषयमा सामाजिक सञ्जालबाट चेतावनी शैलीमा जवाफ फर्काउँदै आएका बालेन सीमित व्यक्तिको घेरामा रमाइरहेका छन् । आफ्नै उपप्रमुख सुनिता डंगोललाई समेत उनले बेवास्ता गर्ने गरेका छन् । नगरका हरेक निर्णयमा आफ्नो एकलौटी गर्दै आएका उनले अरुलाई टेर्नु त कताको कता कुरासमेत सुन्न चाहँदैनन् । बालेनको यही शैलीलाई लिएर आलोचनासमेत हुने गरेको छ ।
कहिले सिंहदरबारमा आगो लगाउँछु भन्ने त कहिले नेताहरुलाई टुकुचामा गाडिदिन्छु भन्ने महानगरप्रमुख बालेन प्रमुख प्रशासकीय अधिकृतका विषयमा भने नराम्रोसँग चुकेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै उनले तीन महिनादेखि कार्यालयमा हाजिर हुन दिएनन् । संघीय सरकारले गुरागाईंलाई नै जिम्मेवारी दिएर खटाइरहँदा पनि उनले कार्यालयमा ताला लगाएर राखे तर भित्र पस्न दिएनन् । बरु उल्टै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय सरकारलाई धम्कीपूर्ण शैलीमा आग्रह गरिरहे । तर सरकारले उनको कुरा सुनेन । कुन पालिकामा कसलाई पठाउने भन्ने अधिकार आफ्नो भएको भन्दै संघीय बालेनको कुरा नै सुनेन ।
तलव नपाएर कर्मचारी भोकभोकै पर्न थालेको गुनासो पुगेपछि संघीय सरकारले उनै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काठमाडौं महानगरपालिकामा पठायो । तर बालेन कार्यालयमा नभए पनि कतै गुप्त ठाउँमा बसेर उनलाई कार्यालयमा छिर्न नदिने महानगर प्रहरीलाई भनिरहेका थिए । तर, उपमहानगर सुनिता र वडाध्यक्षहरुले बालेनलाई साथ दिएनन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंकै साथ दिए र तीन महिनाअघिदेखि लागेको ताला फुटाएर कार्यालयमा प्रवेश मात्र गराएनन्, हाजिरसमेत गराए । यो घटनाले महानगर प्रमुख बालेनको गुप्त योजना भताभुंग भएको छ ।
कहाँ थिए त बालेन ?
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर गर्न पुग्दा नगरप्रमुख बालेन कार्यालयमा थिएनन् । हाजिर गर्न दिने कि नदिने भन्ने रस्साकस्सी चल्यो ।
कार्यालयको गेटमै तैनाथ रहेका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने खोजे । उनले बालेनको आदेश भन्दै रोक्न खोजिरहेका थिए । तर वडाअध्यक्ष र कर्मचारीहरूको एउटा समूहले घेरेर अधिकृत गुरागाईंलाई कार्यालय पुर्याए । बालेन कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । महानगरको कानुनमा नगर प्रहरी प्रमुखलाई चलाउने जिम्मा नै प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । तर नगर प्रहरी प्रमुखले महानगरप्रमुखको आदेश भन्दै रोक्न खोजिरहेका थिए । त्यो पनि बालेनको गुप्त ठाउँबाट दिएको मन्त्रणाअनुसार ।
कतिसम्म भने उपमेयर सुनिता डंगोलले खोज्दा पनि बालेन फेला परेनन् । उनीसँग न फोन सम्पर्क नै हुनसक्यो । बरु महानगरको कार्यालयमा रमिता चलिरहेका बेला बालेन काभ्रेको कुनै अमूक ठाउँमा रहेको सूचना बाहिरियो । उनी बिदा मनाउन भन्दै बुधबार नै काभ्रेको पाँचखालमा पुगेका रहेछन् । आफ्नै कार्यालयमा दिनभर भएको तनाव र रमिताबारे पाँचखालको कुनै गुप्त कोठामा बसेर जानकारी लिइरहेका बालेनको शैली यस पटक भने नराम्ररी फेल खाएको छ ।