
काठमाडौं । गत शुक्रबार गएको शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज आज बंगलादेश हुँदै त्यसतर्फ जाने भएको छ ।
भूकम्पमा २७ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने ४५ सयभन्दा बढी घाइते भएका छन् । म्यानमारको मध्यक्षेत्रमा ७.७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो ।
उनीहरुलाई सहयोग गर्न नेपाली सेनाको विमान त्यसतर्फ जान लागेको हो । टर्बोप्रोप इन्जिन भएको सेनाको सीएन–२३५ विमान राहत बोकेर म्यानमार जाने तयारीमा छ । म्यानमानर जाने हवाई रुटअन्तर्गत पर्ने केही मुलुकका आकाशको उडान अनुमति तथा भिसा प्राप्तिको केही काम मात्र बाँकी रहेको बताइएको छ । म्यानमारमा नेपाली सेनाको जहाज पहिलोपटक जान लागेको हो ।
छिमेकी मुलुकहरुमा आइपर्ने प्राकृतिक विपतमा सेनाको जहाज परिचालन भएको पनि सम्भवत: पहिलोपटक हो । त्यसमाथि म्यानमार त पहिलो उडान हुन लागेको हो । म्यानमारमा रहेका केही नेपाली भाषी समुदाय पनि रहेकाले पनि सैनिक उडानबाट मेडिकल टिम र सेनाका उद्धारविज्ञहरुसहित १६ जनालाई पठाउन लागिएको सेनाले जनाएको छ ।
कूटनैतिक उडानका रुपमा सेनाको जहाजलाई मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अनुमति जारी गरिसकेको छ । यो उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालकदलको टोली म्यानमार जाँदै छ । जहाजमा १६ जनामध्ये १२ जना सेनाकै मेडिकल टोली रहेका छन् । यो विमान बिहीबार नेपाल फर्किने छ । तर सैनिक मेडिकल र अरु उद्धारकर्मीहरु त्यही रहने छन् ।
यो टोली कम्तिमा ६ दिन म्यानमारमा उद्धार तथा घाइतेहरुको उपचारमा खटिने छ ।