काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तथा मोडालिटी तयार गर्न समिति गठन गरेको छ ।
महासंघको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचनको मिति र सञ्चालन मोडालिटीसम्बन्धी १५ दिनभित्र सुझाव पेश गर्ने गरी ६ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डीबी बस्नेत र अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एशोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोभिड १९ को महामारीले गर्दा नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्पन्न गर्न महासंघले विशेष व्यवस्था गर्नुपर्ने भएको हुँदा प्रचलित कानून, महासंघको विधान र नेपाल सरकारले बनाएको कोभिड १९ सम्बन्धी नीति नियमहरुको पालना हुने गरी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन र साधारणसभा सम्पन्न गर्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ र एशोसिएटको तर्फबाट दुईदुईजना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको छ ।”
समितिले १५ दिनभित्र साधारणसभा तथा निर्वाचनको मिति र सञ्चालन मोडालिटि तयार गरी पदाधिकारी समितिमा पेश गर्ने, र पदाधिकारी समितिले उक्त मोडालिटिलाई कार्यकारिणी समितिमा पेश गर्ने र त्यही मोडालिटी अनुसार नेपाल सरकारसँग अनुमतीका लागि पत्राचार गर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुने बताउँदै उहाँले कोभिडको महामारी लामो समयसम्म रहिरहने संकेतहरु देखिएकाले अर्थतन्त्रलाई पनि चलायमान गराउनुपर्ने बताउनुभयो ।
“मैले यसअघि पनि साधारणसभाका लागि कुरा उठाएको थिए । मैले विधानको कार्यान्वयन र संस्थाको जिबन्तता र संकटमा महासंघको सशक्त आवाजका लागि समयमै साधारणसभा गर्नुपर्छ भनेर यो विषय उठाउँदै आएको थिए । तर त्यसलाई बङ्ग्याएर मलाई पदमा पुग्न हतारो भएको आरोप लगाइयो । खासमा मैले हामीले अर्थतन्त्रलाई चलायमान गरिएन भने यसको दीर्घकालिन असर कोभिडको असरभन्दा ठूलो हुन्छ भनेर भनेको हुँ,” उहाँले भन्नुभयो ।
२०७६ साल चैत्र मसान्त भित्र सम्पन्न हुनुपर्ने महासंघको ५४औं वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचन कोभिड १९ को महामारीका कारण अहिलेसम्म हुन सकेको थिएन । सामान्यतः महासंघको साधारणसभा हरेक वर्षको चैत्र २८ र २९ गते हुने गर्दछ ।
कोभिडका कारण स्थगित साधारणसभा दोस्रोपटक २०७७ साल जेष्ठ ७ र ८ गतेलाई तोकिएको थियो । त्यस समयमा पनि लकडाउन निरन्तर रहेपछि महासंघले श्रावण २६ र २७ गतेलाई तेस्रोपटक साधारणसभाको मिति तोकेको थियो ।
तर, कोभिड १९ का संक्रमितको संख्या बढ्दै गएपछि गत श्रावण ८ गते बसेको पदाधिकारीको बैंठकले पुनः साधारणसभा तथा निर्वाचनलाई स्थगित गरेको छ । पदाधिकारी समितिले निर्वाचन र साधारणसभा सार्ने सम्बन्धमा गरेको निर्णयलाई लिएर महासंघभित्र विवाद उत्पन्न भएको थियो ।
विवादपछि उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित २२ जना कार्यकारिणी समिति सदस्यले कार्यकारिणी समितिको बैठक बोलाउन आह्वान गरेका थिए । आगामी ५४औं वार्षिक साधारणसभामा वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले महासंघको कार्यकारिणी समितिका वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।











